चलचित्र ‘यात्रा’ को बिहीवारबाट नियमित छायांकन सुरु भएको छ । पहिलो दिन चलचित्रको टाइटल गीतको छायांकन गर्दै टोली सोलु निस्किएको छ । राजधानीबाटै सुरु गीतको छायांकनमा यात्रालाई देखाइनेछ भने यो सोलुमा पुगेर सकिनेछ ।
यस गीतमा प्रतिक पौडेलको शब्द र संगीत रहेको छ भने गायनमा प्रतिकलाई धर्मेन्द्र सेवान र प्रेक्षा बज्राचार्यले साथ दिएका छन् । सोलु झन्डै ३ साता चलचित्रको छायांकन हुने निर्माता केशव भट्टराईले जानकारी दिए ।
सोलुको जुनबेसी, फाप्लो, सल्लेरी र पतालेलगायतका रमणीय दृश्यमा ‘यात्रा’ खिचिनेछ । चलचित्रमा सलिनका अलावा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्यलगायतको अभिनय रहनेछ ।
यस चलचित्रबाट मल्लिका महतले डेब्यु गर्दैछिन् भने विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । चलचित्रमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चामा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । चलचित्रलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।
सम्राट शाक्यको कथा तथा निर्देशन रहने ‘यात्रा’ लाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन । कोटकी कालिका देवी फिल्मस् प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् ।