‘चलचित्र कि भगवान भरोसाले चल्छ कि सलमान भरोसाले’ भन्ने स्लोक बलिउडमा खुब प्रख्यात छ । नेपालमा अनमोल केसीको हकमा यो स्लोक लागू हुन्छ । जसरी उनका चलचित्रले ‘बक्सअफिस’ मा सुनामी ल्याइरहेका छन् यसबाट पनि प्रष्ट हुन्छ कि अनमोल साँच्चै ‘अनमोल’ छन् । झन् उनको क्रेजको त कुरै छाड्यौँ ।
उनलाई अभिनयले भन्दा क्यूट लुक्सका कारण चलेको अभिनेता भनिन्छ । चलचित्र ‘कृ’ बाट भने उनी यो आरोपबाट धेरै हदसम्म मुक्त भए । उक्त चलचित्रबाट यस वर्षको ‘एनएफडिसी अवार्ड’ मा उत्कृष्ट अभिनेताको अवार्ड उचालेका अनमोलले बिहीवार राजधानीमा सम्पन्न ‘दशौं डी सिने अवार्ड’ मा पनि सोही विधामा अवार्ड चुमे ।
अवार्ड कार्यक्रममा उनलाई जति न मिडिया न त अन्य अतिथीले नै अरु सेलिब्रेटीलाई खोज्ने गर्दछन् । हत्तपत्त अनमोल कुनै अवार्ड समारोहमा पुग्दैनन् । र, पुगे भने उनी रित्तो हात फर्किदैनन् । उत्कृष्ट अभिनेताको अवार्ड नभएपनि पपुलर अवार्ड उनीभन्दा बाहेक अरुको पोल्टामा जाँदैन ।
बिहीवार ‘दशौं डी सिने अवार्ड’ मा ‘कृ’ बाट उत्कृष्ट नायकको अवार्ड उचाल्दै गर्दा उनले भागवान कृष्णलाई सम्झिए । भगवानप्रति आस्था राख्ने उनी कृष्णभक्त हुन् ।
उनले अवार्ड उचाल्दै भने, ‘मेरो लागि यो अवार्ड मात्र होइन जिम्मेवारी पनि हो । नेपाली फिल्म क्षेत्रलाई अगाडि लैजानका लागि । धन्यवाद, मेरा फ्यान र आमा-बुबालाई । अनि, भगवान कृष्णलाई ।’
अनमोलले उत्कृष्ट अभिनेताको अवार्ड उचाल्दै गर्दा दर्शक दिर्घामा रहेका उनका पीता भुवन केसी गहभरी भएका थिए । अचेल अनमोल आफ्नो छैठौं चलचित्र ‘क्याप्टेन’ मा व्यस्त छन् ।