चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ र ‘ड्रिम्स’ एकै मितिमा रिलिज हुँदा भुवन केसी र दिनेश डिसीको ‘पानी बाराबार’ थियो । ‘फूलै फूलको मौसम’ का निर्देशक डिसी थिए भने ‘ड्रिम्स’ लाई केसीले निर्देशन गरेका थिए ।
एकै मितिमा दुई वा सोभन्दा बढी चलचित्र रिलिज हुँदा निर्माता-निर्माताले एकअर्काको खोइरो खन्नु नौैलो होइन । त्यसबेला निर्माता तथा निर्देशक भुवन केसीले ‘ड्रिम्स’ को प्रतिस्पर्धा हलिउड र बलिउड चलचित्रसँग भएको भन्दै नेपाली चलचित्र ५० वटा आएपनि केही नहुने एक अन्तर्वार्तामा बताएका थिए ।
आफ्नो चलचित्रलाई ‘अन्डरस्टिमेट’ गरेको भन्दै दिनेश डिसीले अनमोल केसीलाई आफ्नो निशाना बनाए । अनमोलको अभिनय कमजोर रहेको र पीता जस्तो सफल हुन राम्रो निर्देशकसँग अभिनय सिक्न उनले सुझाव दिए । तर, यस विषयमा न भुवनले केही बोले न त अनमोलले नै कुनै जवाफ फर्काए ।
यसपछि दिनेश डिसी र भुवन केसीको ‘पानी पाराबार’ थियो । तर, बिहीवार राजधानीमा आयोजित ‘दशौं डी सिने अवार्ड’ मा निकै रोचक दृश्य देखियो । ‘उत्कृष्ट एनिमेशन’ को अवार्ड आफू निर्मित चलचित्र ‘कृ’ बाट ग्लेज इन्टरटेन्मेन्टले प्राप्त गरेपछि भुवन अवार्ड थाप्न स्टेज चढे । अवार्ड बाढ्ने स्टेजमा दिनेश डिसीलगायत अन्य व्यक्ति थिए ।
दिनेशले अवार्ड भुवनको हातमा थमाउँदै बधाई दिए र दुवैले दुश्मनी भुल्दै अंकमाल गरे । अवार्ड समारोह तालीले गुञ्जियो । दर्शक दिर्घामा रहेका अनमोल केसीले पनि हाँसोका साथ ताली बजाए । २०७३ सालमा दिनेश डिसीले आयोजना गर्ने ‘एलजी फिल्म अवार्ड’ मा अनमोललाई ‘पपुलर एक्टर (मेल)’ को अवार्ड प्रदान गरिएको थियो ।
चलचित्र रिलिजको बखत ‘पानी बाराबार’ रहेको भुवन र अनमोलसँग अहिले दिनेशको राम्रो सम्बन्ध छ ।