काठमाण्डौ। चलचित्र पत्रकार संघ नेपालको बुधबार बसेको कार्यसमिति बैठकले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७५’ को घोषणा गरेको छ । चलचित्र पत्रकार संघ नेपालका पूर्वउपाध्यक्ष तथा हाल रमाईलो टिभिका अध्यक्ष दयाराम पाण्डे र संघका सदस्य, नेपाल पत्रकार महासंघका पूर्वसचिव तथा हाल राजधानी दैनिकमा कार्यरत ध्रुव लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । चलचित्र पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै संघले पाण्डे र लम्साललाई सम्मान गर्न लागेको हो ।
संघले संघका पूर्वउपाध्यक्ष तथा नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र संघकी सदस्य तथा टिभि फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै सुवेदी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कृतले नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्राप्त गर्नेछन् ।
फिल्मीखबर डटकममा कार्यरत अञ्जान दाहाल (मनिष)लाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारितामा सक्रिय भएको छोटो अवधिमै चलचित्र पत्रकारितामा स्थापित दाहाललाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहेको छ ।
आगामी जेठ ७ मा हुन गईरहेको १९ औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको संघका अध्यक्ष सन्दीप सापकोटाले बताएका छन् ।