सम्राट शाक्यको पहिलो निर्देशकीय चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ को औपचारिक रुपमा छायांकन आरम्भ भएको छ । मंगलवार राजधानीको कमलादीमा रहेको गणेस्थानमा पुजाआजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।
सुटिङको पहिलो दिन गणेस्थान र गहनापोखरी वरिपरि चलचित्रको छायांकन गरिएको छ । यसमा ‘ए मेरो हजुर २’ फेम अभिनेता सलिनमान बनियाँ प्रमुखख भूमिकामा छन् । उनको अलावा सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाललगायतको पनि अभिनय रहनेछ ।
यही चलचित्रमार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । चलचित्रमा बालकलाकारको रुपमा अंकित संग्रौला र एन्जल राई रहेका छन् । चलचित्रलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।
कोटकी कालिका देवी फिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा केशव भट्टराई, सुशील पोखरेल, मुक्ति तिमल्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् । कथा निर्देशक सम्राटकै रहेको छ ।
चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरोयोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ । यसलाई संजय लामाले खिच्नेछन् ।