रियल जोडीको वास्तविक घट्नामा निर्माण भएको नेपाली चलचित्र ‘बोबी’ को पहिलो पटक नर्वेमा प्रिमियर गरिएको छ । नर्वेको सुन्दर नगरी ओस्लोको भीका भिक्टोरिया हलमा प्रिमियर गरिएको हो । यो हलमा हलिउड चलचित्रको मात्र प्रिमियर हुने गर्दछ ।
यस चलचित्रको रेड कार्पेट प्रिमियरमा ४ सय बढी दर्शकको उपस्थिति रह्यो । निर्देशक चाम्सका अनुसार सबटाइटलसहितको चलचित्र हेर्न नर्वे, इटाली, माल्टा, युके लगायत देशका नेपालीसँगै विदेशी पनि उपस्थित थिए ।
सफल प्रिमियर पश्चात चाम्सले नेपाली चलचित्र बजारको अर्को ढोका खोल्न सफल भएकोमा खुसी व्यक्त गरे । नर्वेमा बस्दै आएका एनआरनए जोडी उमेश थापा र उनकी पत्नी कविता गुरुङको वास्तविक जीवनकथामा यो चलचित्र निर्माण भएको हो । चलचित्रमा रियल जोडीको नै मुख्य भूमिका छ ।
चलचित्रमा कविता र उमेशका अलावा विजय लामा, रुवी राना शाह (मिस नेपाल), रवी गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, बादल भट्ट, रश्मि भट्ट, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ ।
उमेश पेशाले इन्जिनियर हुन् भने कविता होटल म्यानेजर हुन् । चलचित्रको स्क्रिप्ट सञ्चारकर्मी नरेश भट्टराईले लेखेका हुन् । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।
यो चलचित्रले प्रेम गर्ने जोडीको माया, संघर्ष र सफलताको कथा बोल्छ ।