प्रचार सकेर मोफसलबाट फर्कियो ‘लम्फू’ टीम



काठमाण्डौ। केहि दिनको मोफसल यात्रा पछि चलचित्र ‘लम्फू’ यूनिट काठमाण्डौ फर्किएको छ । यसै शुक्रबार देशैभर ‘लम्फू’ रिलीज हुँदैछ ।

तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ समेतको अभिनय रहेको यो चलचित्रको प्रचार-प्रसारको लागी राजधानी बाहिर कलाकारहरु कबिर खड्का, सञ्जीत भण्डारी, आयान खड्का, निर्देशक गोपालचन्द्र लामिछाने, निर्माता शक्तिबल्दभ घोरासैनी लगायतको टीम पुगेको थियो । चलचित्रका अन्य कलाकारहरु सलोन बस्नेत, मरिस्का पोखरेल, चाँदनी शर्मा लगायत भने राजधानीमा नै प्रचारको लागी रहेका थिए ।

मोफसल यात्राको क्रममा धरान, दमक, हेटौँडा, चितवन र पोखरामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा सबै स्थानहरुमा तरकारीवालीको प्रसंग प्रमूख स्थानमा रहेको बताईएको छ । तरकारीवाली उर्फ कुशुम हेटौँडा र चितवनका पत्रकारसामु भने पुगेकी थिइन् ।

‘तरकारीवाली’लाई किन चलचित्रमा लिनुभयो ? ‘तरकारीवाली’को भूमिका के छ ? कतै तपाईँहरुले तरकारीवालीलाई प्रयोग मात्र गर्नुभएको त होईन ? तरकारीवाली लिएर चर्चा भएपछि चलचित्र हिट हुन्छ भनेर लिनुभएको हो ? तरकारीवालीलाई कसरी चलचित्रमा अभिनय गर्न राजी गराउनुभयो ? जस्ता प्रश्नहरु निर्माता-निर्देशक माथी आएका थिए । यसबारेमा बोल्दै निर्देशक गोपालचन्द्र लामिछानेले कुशुमलाई प्रयोग गरेको तर गलत प्रयोग नगरिएको बताए ।

चर्चाको नामलाई प्रयोग गरेर चलचित्र हिट बनाउन खोजिएको हो की भन्ने पत्रकारहरुको निर्देशक लामिछानेले तरकारीवालीलाई होइन कुशुम श्रेष्ठलाई अभिनय गराएको बताए । उनले तरकारीवाली उनको एक्कासी जुरेको पहिचान मात्र रहेको बताए । तरकारीवाली भन्दा अलिक फरक तरिकाले कुशुमले अभिनय गरेको खुलाए । चलचित्रको बिषयमा बोल्दै निर्देशक लामिछाने ‘लम्फू’ अमलाको स्वाद जस्तो रहेको बताए । ‘मेरो चलचित्र अमलाको स्वादजस्तो छ, शुरुमा टर्रो खाँदै जाँदा स्वादिलो’, पूर्णतया मौलिकता बोकेको चलचित्र बनेको बताउँदै उनले भने, ‘राम्रो लागे अँगालीदिनुस्, नराम्रो लागे गाली गरिदिनुस्’ ।

पत्रकार भेटघाटका क्रममा नायक कबिर खड्काले आफ्नो लागी ‘लम्फू’ भाग्य निर्धारक भएको बताए । उनले अहिले आफ्नो परिचय नै लम्फू बनेको बताए । ‘अहिले मलाई सबैले लम्फू भनेर बोलाउँछन् । चलचित्रको पात्र नै मेरो परिचय बन्दा खुशी लागेको छ’, कबिरले बताए । ‘अभिनयलाई छोडेर पलायन हुने त होइन नी ?’ भन्ने पत्रकारको प्रश्नमा कबिरले आफुले अभिनय बाहेक केहि नसोचेको जवाफ दिएका थिए । कलाकारहरु सञ्जीत भण्डारी र आयान खड्काले ‘लम्फू’ मौलिक नेपाली चलचित्र रहेको बताए ।

चलचित्रका निर्माता शक्दिबल्दभ घोरासैनीले काठमाण्डौ उपत्यका बाहिर चलचित्रको ठुलो बजार रहेकोले प्रचार-प्रसारको लागी मोफसल पुगेको जानकारी दिए । चलचित्र सफल बने आफुहरु पुन: राजधानी बाहिर दर्शकसामु जाने उनले बताए । घोरासैनीले ‘लम्फू’ बहुप्रतिक्षित नभएपछि उत्कृष्ट रहेको बताए । ‘यो चलचित्र बहुप्रतिक्षित नहुन सक्छ तर राम्रो सम्भावना भने पक्कै बोकेको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu