साउथ र बलिउड चलचित्रमा सबैभन्दा डिमाण्डेड अभिनेता हुन् प्रकाश राज । बलिउडमा नेगेटिभ भूमिकाका लागि आजपनि निर्देशकको पहिलो रोजाईमा उनी नै हुने गर्दछन् ।
‘सिंघम’, ‘वान्टेड’ जस्ता फिल्ममा भिलेनको भूमिकामा देखिसकेका अभिनेता प्रकाश राजले प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टीको विरुद्ध बोल्न थालेपछि बलिउडमा काम मिल्न छाडेको खुलासा गरेका छन् ।
कर्नाटक विधानसभा चुनावको क्रममा पनि प्रकाश बीजेपीको विरुद्धमा क्याम्पेन चलाउँदै देखिएका छन् । उनी पछिल्लो केही समयदेखि मोदी सरकार र भाजपाको राजनीतिको कडा विरोद्ध गर्दै आइरहेका छन् ।
‘द प्रिन्ट’ लाई दिएको अन्तर्वार्तामा राष्ट्रिय पुरस्कोर विजेता समेत रहेका प्रकाश राजले भने, ‘साउथ फिल्म् इन्डस्ट्रीमा कुनै समस्या छैन, तर जबदेखि मैले बोल्न सुरु गरे तबदेखि हिन्दी फिल्म इन्डस्ट्रीबाट अफर आउन बन्द भएको छ ।’
तर, उनी यो कुराबाट चिन्तित नभएको बताउँछन् । हिन्दी फिल्मबाट अफर नभएपनि धेरै पैसा भएकाले कुनै चिन्ता नभएको उनको भनाई छ । प्रकाश राज प्रायः बीजेपीमाथी निशाना बनाउने गर्दछन् ।