‘डमरुको डण्डीबियो’ को सुखद ओपनिङ, सेल्फीमा घेरिए खगेन्द्र (भिडियोसहित)



शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘डमरुको डण्डीबियो’ ले सुखद ओपनिङ गर्न सफल भएको छ । शुक्रवार ५० हाराहारी रहेको यस चलचित्रले शनिवार ८० प्रतिशत अकुपेन्सी कायम गरेको छ ।

समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो चलचित्रले दर्शकबाट भने राम्रो प्रतिक्रिया पाइरहेको छ । शनिवार दिउँसो राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा दर्शक भरिभराउ देखिएका छन् । कुमारी, बिग मुभिज, एफक्युब, सिने डी सेफ, बिएसआर, क्युज सिनेमाजलगायतका मल्टिप्लेक्समा पनि शनिवार चलचित्रको अधिकांश शो हाउसफुल रहे ।

काठमाडौं बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि चलचित्र हेर्ने दर्शकको चाप राम्रो छ । शनिवार दिउँसो ४ बजे गोपीकृष्ण हल पुग्दा चलचित्रका दुई लिड कलाकार खगेन्द्र लामिछाने र अनुप बरालसँग सेल्फी खिच्ने दर्शकको भीड सम्हाल्न निर्माण टिमलाई हम्मे-हम्मे परेको थियो ।

गोपीकृष्णको कृष्ण हलमा लागेको ‘डमरुको डण्डीबियो’ दिउँसो हाउसफुल थियो । यस्तै, साँझ साढे ६ बजे जय नेपाल हलमा पनि खगेन्द्र र अनुपले दर्शक प्रतिक्रिया बुझे ।

झन्डै साढे ३ सय दर्शकहरु दुई अभिनेतासँग सेल्फी लिन हानाथाप गरिरहेका थिए । हरेक एक दर्शकसँग उनीहरुले हात मिलाउँदै चलचित्रको विषयमा भलाकुसारी गरे । खगेन्द्र र अनुप दर्शक प्रतिक्रियाबाट उत्साहित देखिएका छन् ।


खगेन्द्र भन्छन्, ‘दर्शकको यो मायाले थप जोश थपेको छ । मलाई हरेक नयाँ चलचित्र केही फरक लिएर आउनु पर्ने चुनौती हुन्छ । ‘डमरुको डण्डीबियो’ के होला भन्ने ठूलो डर थियो । तर दर्शकहरुको उत्साहजनक साथले डर शक्तिमा बदलिएको छ ।’ यस्तै, अनुप बराल पनि दर्शक प्रतिक्रियाबाट सन्तुष्ट भएको बताउँछन् ।

चलचित्रको लाइफटाइम कलेक्शन आइतबारदेखिको व्यापारमा भर पर्नेछ । यसका निर्देशक छेतेन गुरुङ हुन् । यसमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, आशान्त शर्मा, अंकित खड्का, लक्ष्मी बर्देवा, बुद्धि तामाङ, इंगी होपो सुनुवारलगायतका कलाकारहरुको लिड रोल छ ।

घले गाउँ र काठमाडौंमा खिचिएको यस चलचित्रले शहरमा बसेर पढेको एक युवक डण्डीबियोलाई पूर्नस्थापित गर्न गाउँ पसेको कथा बोल्छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेले ‘डमरुको डण्डीबियो’ निर्माण गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu