जिवन पराजुली।
बैशाख २८ गते रिलीज हुने नेपाली चलचित्र ‘लम्फू’को मिडिया सल्लाहकारको रुपमा म पनि देशव्यापी प्रचार-प्रसारमा सहयोग गर्न सँगै पुग्नुपर्ने थियो । रिलीजको संघारमै आईपुग्दा बैशाख १७ गते समय जुर्योप । १७ गते सबेरै काठमाण्डौबाट माइक्रोबस लिएर म सहितको टीम पूर्व नेपालको धरानको यात्रामा निस्कियो । टीममा ‘लम्फू’का नायक कबिर खड्का, निर्देशक गोपालचन्द्र लामिछाने, निर्माता शक्ति बल्दभ घोरासैनी, कलाकारहरु सञ्जीत भण्डारी र आयान खड्का, सहनिर्देशक थमनसिंह पुर्जा साथमा माईक्रो चालक र सह-चालक थियौँ । हाम्रो लक्ष्य धरान, दमक, हेटौँडा, चितवन र पोखरासम्म पुग्नु थियो । चलचित्रका अन्य कलाकारहरु नायक सलोन बस्नेत, नायिकाहरु मरिष्का पोखरेल र चाँदनी शर्मा लगायतलाई हामीले राजधानीमा नै छोडेका थियौँ । कारण राजधानीमा पनि प्रचार रोक्न सकिने अवस्था थिएन र साथमा सलोन र मरिष्का आफ्नो काममा पनि अलिकती व्यस्त थिए ।
—-
सिन्धुली-बर्दिवास सडकमा बिभिन्न नागबेली पार गर्दै अगाडी बढिरहँदा यात्रारत हामी सबैको मनमा पनि नागबेली घुमिरहेको थियो । पहिलोपटक मोफसल यात्रा निस्किएको ‘लम्फू’ टीममा सहभागी हामीले त्यहाँ चलचित्रको चर्चा-परिचर्चा के कस्तो होला भनेर अनुमान लगाईरहेका थियौँ । आफ्नो तर्फबाट सबैले उत्तिकै मेहनत र सक्रियताका साथ रिलीजको संघारमा पुगेको यो चलचित्रको चर्चा गतिलै छ भन्ने भरोषामा हामी सबै थियौँ । सिन्धुलीमा घुमेको ज्यान बर्दिवास पुगेपछि सोझियो । लहानमा पुगेर खाजा खाएपछि हामी सिधै धरान पुग्यौँ । धरानका साथीहरुले होटल व्यबस्थापन गरेका थिए । भोलीपल्ट बिहान पत्रकार सम्मेलन थियो ।
प्रेससामु ‘तरकारीवाली’
हामी रहेकै होटलमा बिहानै धरान र इटहरीबाट प्रेसका साथीहरु आएका थिए । त्यहिँ सम्मेलन आयोजना गरियो । धरानको पत्रकार सम्मेलनमा अपेक्षित एउटा प्रश्न सोधियो, ‘तरकारीवाली’ खोई त ? निर्माता तथा निर्देशकले कक्षा १२ को परिक्षाको कारण तरकारीवाली उर्फ कुशुम श्रेष्ठ उपस्थित हुन नसकेको जानकारी दिएपनि प्रश्न सकिएनन् ।
‘तरकारीवाली’लाई किन चलचित्रमा लिनुभयो ? ‘तरकारीवाली’को भूमिका के छ ? कतै तपाईँहरुले तरकारीवालीलाई प्रयोग मात्र गर्नुभएको त होईन ? तरकारीवाली लिएर चर्चा भएपछि चलचित्र हिट हुन्छ भनेर लिनुभएको हो ? तरकारीवालीलाई कसरी चलचित्रमा अभिनय गर्न राजी गराउनुभयो ? यावत प्रश्नहरु पत्रकार सम्मेलनमा बर्षिए । यि प्रश्नहरुले धरानपछि दमक, हेटौँडा, चितवन र पोखरा सम्म पछ्याईरहे । हेटौँडा र चितवनमा भने कुशुम आँफै उपस्थित भईन् र प्रश्नहरुका जवाफ दिइन् । कुशुम १० बजे परिक्षा सकेर पत्रकार सम्मेलनमा सहभागी हुन हेटौँडा पुगिन् । उनि पुग्दा पत्रकार सम्मेलन सकिईसकेको थियो । तर उनि नआएसम्म पत्रकारहरु त्यहाँबाट गएनन् । उनि बाटोमा रहेको हाम्रो भनाईलाई स्विकारी उनिहरु कुशुमलाई प्रश्न सोधेरै मात्र त्यहाँबाट गए ।
चितवनमा उनले आफ्नो काका गोपीलाल श्रेष्ठलाई पनि लिएर आईन् । ‘लम्फू’मा अभिनयको लागी काका गोपीलालले नै अविभावकत्व बहन गरेका थिए । त्यसो त चितवनको रत्ननगरस्थित काकाको घरमै बसेर अहिले क्वेष्ट कलेजमा कुशुमले अध्ययन गरिरहेकी छिन् । चितवनमा कुशुमका काकाले भाईरल भईसकेपछि चलचित्र सम्मको यात्राको बारेका सम्पूर्ण जानकारी दिए । कुशुमले आफ्नो मनमा भन्न मन लागेका धेरै कुराहरु भएपनि खुलेर बोल्न नसक्ने बताईन् । उनले आफुले बोल्ने शैलीमा बिस्तारै बानी पार्दै जाने बताईन् ।
हामी पोखरा पुग्यौँ । नेपालकै दोश्रो राजधानी मानिने पोखरामा प्रेसका साथीहरुले पनि कुशुम कार्यक्रममा आउने ठानेका रहेछन् । परिक्षाकै कारण कुशुम पोखरा जान सकेकी थिइनन् । म आँफै उद्घोषक भएको नाताले मैले नै उनको अनुपस्थितीको कारण जनाउ दिएँ । पोखरामा पनि माथी उल्लेखित प्रश्नहरु तेर्सिए । गलत प्रयोग गरिएको पो होकी भन्ने शंका पनि प्रेसका साथीहरुमाझ रहेछ । चर्चाको नामलाई प्रयोग गरेर चलचित्र हिट बनाउन खोजिएको हो की भन्ने शंका पनि रहेछ । यि सबै शंकाबारे निर्देशक गोपालचन्द्र लामिछाने तथा निर्माता शक्ति बल्दभ घोरासैनीले प्रष्ट्याएपछि प्रसंग बदलिएर नायक कबिर खड्कामा पुग्यो । निर्देशकले तरकारीवालीलाई होइन कुशुम श्रेष्ठलाई अभिनय गराएको बताए । उनले तरकारीवाली उनको एक्कासी जुरेको पहिचान मात्र रहेको बताए । तरकारीवाली भन्दा अलिक फरक तरिकाले कुशुमले अभिनय गरेको खुलाए ।
सुरक्षाकर्मीको मनमा तरकारीवाली
दमकमा पत्रकार सम्मेलन गरेपछि हामी यात्रा गरिरहेको माईक्रोबसका चालकले हामीसँग भएको चलचित्रको ब्यानर बसको अगाडी टाँस्न अनुरोध गरे । उनले ‘चलचित्रको प्रचारपनि हुन्छ नि’ भन्दै आग्रह गरे । हामीले सोच्यौँ यतिन्जेल किन टाँसिएन ! कसैको पनि दिमागले यसबारेमा सोचेको थिएन । जुक्ति निकालेकोमा चालकलाई धन्यवाद दिँदै ब्यानर टाँसियो । दमकबाट यात्रा शुरु गरेर केहि अगाडी पुगुन्जेल हामीले ब्यानरतर्फ खास चासो दिएका थिएनौँ । त्यतिबेला माहौल बदलियो जतिबेला सडक सुरक्षामा खटिएका ट्राफिक प्रहरीले ‘तरकारीवाली’को खोजी गरे । पटके देखाउन रोकिएको हाम्रो माईक्रोबस त्योबेला हामीलाई हिरो लाग्यो जतिबेला प्रहरीले टाँसिएको ब्यानर देखेर तरकारीवाली सम्झिए । हाँसोले माइक्रोबस गुञ्जियो । प्रहरीले भनेका थिए ‘आइन् तरकारीवाली’ ।
त्यसपछि हामीलाई लाग्यो ‘लम्फू’को नाम नसुन्ने सायदै होलान्, किनकी हरदम व्यस्त रहने ट्राफिक प्रहरीलाई समेत ‘लम्फू’को सम्झना थियो । त्यसपछी अगाडी बढेका हामीले अन्य मानिसहरुले कसरी प्रतिक्रिया जनाईरहेका छन् भन्ने बुझ्न मन लाग्यो । ब्यानर देखेपछि कोहीले फर्की-फर्की हेरिरहेका थिए भने कतिले तरकारीवालीको फिल्म भनिरहेका थिए ।
पोखराको पत्रकार सम्मेलन सकेर काठमाण्डौ फर्कने समयमा बसमा डिजल राख्नको लागी शसस्त्र प्रहरीको पम्पमा पुग्यौँ । डिजल भरिरहेको बेला एकजना प्रहरी अधिकारी आए । उनले बस भित्र हेरे, तरकारीवाली देखेनन् । उनि ब्यानर देखेरै आएका रहेछन् । उनले सोधे ‘तरकारीवाली खेलेको फिल्म होइन र ?’ ‘हो सर’ भन्ने हाम्रो उत्तरपछि उनले ‘खोई त ?’ भने । हामीले उहि उत्तर दियौँ ‘उनि आएकी छैनन्, परिक्षा चलिरहेको छ’ । उनले आफुले मिलेसम्म चलचित्र हेर्न जाने बताए ।
सुरक्षाकर्मी सम्बन्धित यि दुई घटनाले चलचित्र प्रतिको हाम्रो आशा अझै मजबुत बनाएर हामी काठमाण्डौ फर्कियौँ ।
दौडिँदै आए पेट्रोल पम्पका लेखा अधिकृत
दमकबाट हेटौँडा फर्किँदै गर्दा इटहरीमा एउटा पेट्रोल पम्प छ । त्यो पम्पमा बसमा डिजल भर्न हामी पुग्यौँ । बस रोकिनासाथ एक व्यक्ति पम्पको एकाउण्ट सेक्शनबाट दौडिँदै आए । संयोगबस उनले मलाई बोलाउन पुगे । उनले भने ‘सर लम्फूनी खोई त ? एउटा सेल्फी मार्नुपर्यो’ । कमेडी शैलीका उनि पम्पका लेखापाल रहेछन् । उनले आफुले बसमा ब्यानर देखेपछि तरकारीवाली बसमा नै छिन् भनेर आएको बताए । उनि हामीसँगै नआएको बताएपछि अलिकती निराश भए तर हामीलाई भेट्न पाउँदा उनि खुशी थिए । उनि स्थानिय एफ.एम. रेडियोमा क्विज कार्यक्रम सञ्चालक समेत रहेछन् । त्यहिँ नै उनि मसँग फेसबुकमा जोडिए । जसरी भएपछि ‘लम्फू’ हेर्न जाने वाचा गरे ।
—-
माथीका घटना केहि प्रतिनिधी मात्र हुन् । आम समुदायमा तरकारीवालीको खोजी उत्तिकै छ । हुन त उनले ‘लम्फू’मा मूख्य भूमिका निभाएकी छैनन् तर पनि उनको चलचित्र हेर्न सर्वसाधारण आतुर छन् भन्ने चार दिनको राजधानी बाहिरको यात्राबाट मैले बुझ्न सफल भएँ ।