शुक्रवारबाट प्रदर्शनमा आएको खगेन्द्र लामिछाने स्टारर चलचित्र ‘डमरुको डण्डीबियो’ ले प्रेस शोमा तारिफ पाएको छ । शुक्रवार विहान कलाकार, निर्देशक र निर्माताले पत्रकार र चलचित्रकर्मीसँग बसेर चलचित्र हेरेका छन् ।
चलचित्रले नेपालबाट लोप हुँदै गएको डण्डीबियोको कथा बोल्छ । शहरमा बसेर पढेको एक युवक डण्डीबियोलाई पूर्नस्थापित गर्न गाउँ पसेको कथा यसमा छ । लेखन पनि कलाकार खगेन्द्रकै हो । अधिकांश पत्रकारले चलचित्र हेरिसकेपछि प्रशंसा गर्दै ‘डमरुको डण्डीबियो’ टिमलाई बधाइ दिएका थिए ।
चलचित्र हेर्ने पत्रकारबाट निर्देशक छेतेन गुरुङको निर्देशकीय पक्ष र लिड कलाकारहरुको कामले पनि तारिफ पाएको थियो । प्रेस शोमा चलचित्रकर्मीहरुको पनि बाक्लो उपस्थिति थियो ।
झरना थापा र उनका श्रीमान सुनिल थापा, अभिनेता प्रशान्त ताम्राकार, निर्देशक प्रदीप भट्टराई, कलाकार तथा निर्माता रविन्द्र सिंह बनियाँ, निर्देशक दीवाकर भट्टराईलगायत चलचित्र हेर्न कुमारी हल पुगेका थिए ।
चलचित्र हेरिसकेपछि अधिकांश चलचित्रकर्मीले राम्रो बोलेका छन् । खगेन्द्रको कामको तारिफ भएको छ । छेतेनको निर्देशकीय क्षमतालाई सबैले अब्बल भनेका छन् । स्पोटको विषयमा नेपालमा स्तरिय चलचित्र निर्माण भएकोमा चलचित्रकर्मीहरुले सुखी व्यक्त गरेका छन् ।
यस चलचित्रको इनिसियल व्यापार सन्तोषजनक छ । शनिवार देशभरका हल हाउसफूल हुनेमा निर्माण टिम विश्वस्त छ ।
अनुप बराल, अशान्त शर्मा, मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार, अंकित खड्का लगायतका कलाकारहरुको चलचित्रमा अभिनय छ ।