चलचित्र ‘रणवीर’ को छायांकन यतिबेला धनगढी, महेन्द्रनगर लगायतका सुदुरपश्चिमका रमणीय स्थलमा भईरहेको छ । एक्सन, सस्पेन्स र थ्रिल मिश्रित चलचित्रको झन्डै ६५ दिनको छायांकन उपत्यकामा सकिएपछि निर्माण युनिट त्यहाँ पुगेको हो ।
झन्डै तिन हप्ते सेड्युल लिएर त्यहाँ पुगेको युनिटले केही दृश्य र दुई गीतको छायांकन गर्ने निर्माण युनिटले जनाएका छन् । निर्माण घोषणामै महँगो बजेट भनेइको चलचित्रलाई विना सम्झौता छायांकन गरिरहेको युनिटको भनाई छ ।
चलचित्रले महेन्द्रनगरको छायांकन लगभग सकाएको छ भने धनगढी, घोडाघोडी ताल लगायतका रमणीय स्थलमा छायांकन अझै बाँकी छ । चलचित्रका कलाकार सुशील सिटौला, सुपुष्पा भट्ट, हरिहर शर्मा, जगदीश रिजाल लगायतको छायांकन भईरहेको छ ।
शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर बनिरहेको चलचित्रलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । चलचित्र ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् ।
चलचित्रमा प्रशान्त ताम्राकार, सुशील सिटौला, सुपुष्पा भट्ट, टिका पहाडी, रवी गिरी, नरेश पौडेल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । यसै चलचित्रमार्फत् मोडलिङ क्षेत्रको चर्चित नाम शुभेच्छा खड्का चलचित्रमा डेब्यु गर्दै्छिन ।
महेश पौडेलको छायांकन रहने चलचित्रमा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । गम्भिर विष्ट र सुरेन बसेलले कोरियोग्राफी गर्नेछन् ।