शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ ले दक्षिण भारतीय चलचित्र ‘मुम्बई एक्सप्रेस’ को कपी रहेको आरोप खेपिरहेको छ ।
तर, यो कुरा स्वीकार गर्दैनन् निर्देशक विशाल भण्डारी र निर्मात्री तथा अभिनेत्री केकी अधिकारी । उनीहरु अरुको कृतिमाथी काम गर्दा दिनु पर्ने क्रेटिड दिएर मात्र काम गरेको बताउँछन् ।
शनिवार दर्शक प्रतिक्रिया बुझ्न हल जाने क्रममा निर्देशक भण्डारीले भने, ‘इन क्रेडिटमा हामीले लेखेका छौं ‘मूभी वाज ‘इन्स्पायर्ड’ ‘मुम्बई एक्सप्रेस’ । यस विषयमा गसिप हुनु पर्छ जस्तो मलाई लाग्दैन ।’
यस्तै, अभिनेत्री केकी अधिकारी दर्शकको उत्कृष्ट प्रतिक्रियाबाट उत्साहित देखिन्छिन् । शुक्रवार औषत रहेको चलचित्रको व्यापार शनिवार केही माथी छ ।
उनी भन्छिन्, ‘चलचित्र हेर्नुहुने दर्शकले राम्रो बोल्नु भएको छ । योभन्दा ठूलो सफलता हाम्रो लागि के हुन्छ र । जसरी ‘मुम्बई एक्सप्रेस’ को कपी भनिएको छ त्यो चाहिँ एकदम गलत हो । ‘इन्स्पायर्ड’ भनेर त हामीले फिल्ममा नै लेखेका छौं ।’
केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।