बैशाख २१ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘डमरुको डन्डीबियो’ को दर्शकमा प्रतिक्षा व्यग्र छ । यतिबेला चलचित्रको प्रचार-प्रसार पनि व्यापक बनाइरहेको छ ।
डण्डीबियो खेलमाथि आधारित यस चलचित्रले शनिबार दिउँसो राजधानीको टुँडिखेलमा ‘ठ्याक लाउने’ च्यालेन्ज राख्यो । चलचित्रका कलाकार उपस्थित भएको उक्त च्यालेन्जमा सयौं प्रतिस्पर्धी सहभागी थिए ।
च्यालेन्जमा सिठ्ठो ठ्याक लगाउनेलाई रु. २५००, छैंटो ठ्याक लगाउनेलाई रु. १५००, पाँचो ठ्याक लगाउनेलाई रु. ५०० बराबरको फूड वा कफी कुपन वा टिसर्ट/क्याप र इनर्जी ड्रिंक्स, तियो/चारो लगाउनेलाई टिसर्ट र पेन पुरस्कार दिइएको थियो ।
चलचित्रका कलाकार खगेन्द्र लामिछाने, आशान्त शर्मा, लक्ष्मी वर्देवा, निर्माताद्वय नोर्बु छिरिङ घले, विनोद गुरुङ लगायतका कलाकारले प्रतिस्पर्धीसँगै ठ्याक लगाएका थिए । टुँडिखेलमा खगेन्द्र पुग्दा फ्यानहरुले ‘पशुपतिप्रसाद’ भन्दै सेल्फी लिन झुम्मिए ।
छेतेन गुरुङ निर्देशित ‘डमरुको डन्डीबियो’ मा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।
समृद्दी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । चलचित्रमा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायांकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।