शुक्रवारबाट अभिनेत्री प्रियंका कार्की अभिनीत दुई चलचित्र प्रदर्शनमा आएका छन् । ‘कोहलपुर एक्सप्रेस’ र ‘ह्याप्पी डेज’ ले यस हप्ताका लागि एकसाथ प्रदर्शन आरम्भ गरेका हुन् ।
‘कोहलपुर एक्सप्रेस’ का निर्देशक विशाल भण्डारी हुन् । यसअघि दर्जनौं म्यूजिक भिडियो निर्देशन गरेता पनि चलचित्र निर्देशन उनको यो पहिलो हो ।
अभिनेत्री त्रय प्रियंका कार्की, ऋचा शर्मा र केकी अधिकारीको यस चलचित्रमा प्रमुख भूमिका छ । केकीको ब्यानर ‘जुनकिरी आर्टस्’ बाट निर्माण भएको चलचित्रमा विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय छ ।
चलचित्रको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको चलचित्रमा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।
यस्तै, मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’ लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।
रोमान्टिक ड्रामा मिश्रित यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय छ ।
पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा चलचित्रले बोल्छ । वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स चलचित्रका निर्माता हुन् ।