कबिर खड्का स्टारर चलचित्र ‘लम्फू’ यही बैशाख २८ गतेबामट देशैभर प्रदर्शनमा आउँदैछ । रिलिज पूर्व नै कमै नायकले पाउने चर्चा यतिबेला उनको हुन थालेको छ । क्यूट लुक्सका कारण संभावना बोकेको नायकको लिस्टमा उनले आफूलाई पनि उभ्याउने छाँटकाँट देखिएको छ ।
सबै नयाँ कलाकारलाई झैँ उनलाई पनि स्टार हुने लोभ रहेछ । कबिर भन्छन्, ‘लोभ कसलाई पो हुँदैन र ? स्टार हुने चाहना मलाई पनि छ । अहिले नै चाहिँ त्यो लोभ छैन । पहिला कलाकारको रुपमा चिनिन चाहन्छु । स्टार हुने वा नहुने भन्ने कुरा त दर्शकको हातमा छ ।’
उनी भन्छन्, ‘अडिसनको विभिन्न चरण पार गरेर ‘लम्फू’ मा काम गर्ने अवसर पाएको हुँ । मैले गर्न सक्ने मेहनत गर्न कुनै कसर बाँकी राखेको छैन ।’ उनका अनुसार, यस चलचित्र युवा पुस्तालाई मन पर्ने बनेको छ ।
अनमोल केसी, प्रदीप खड्का र पल शाह औधि मन पर्ने कबिरलाई उनीहरुसँग स्क्रिन शेयर गर्ने पनि ठूलो इच्छा छ । ‘लम्फू’ मा अभिनेत्री मरिश्का पोखरेलसँग रोमान्स गरेका कबिरलाई फेरि उनीसँगै काम गर्ने मन छ ।
‘मैले उहाँको २ वटा चलचित्र हेरेको थिएँ । मलाई खुब मन पर्छ मरिश्का ।’ उनी भन्छन्, ‘मेरो पहिलो चलचित्र हो ‘लम्फू’ तर उहाँको असल व्यवहारले मलाई गाह्रो महशुस नै भएन । त्यसैले फेरि काम गर्ने ठूलो इच्छा छ ।’
उनी अभिनीत चलचित्र ‘लम्फू’ लाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, कुशुम श्रेष्ठ (तरकारीवाली) लगायतका कलाकारहरुको यसमा अभिनय छ । उक्त चलचित्रलाई शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।