निर्मात्री तथा कलाकार उमा बेबी गिरी निर्देशक सविर श्रेष्ठप्रति आक्रोशित भएकी छिन् । बिहीवार चलचित्र ‘कहिँ कतै’ को एक गीत सार्वजनिक कार्यक्रममा उपस्थित नभएपछि उनले निर्देशक श्रेष्ठलाई ‘स्वार्थी निर्देशक’ को आरोप समेत लगाइन् ।
पटक-पटक फोन गर्दा सविरले आफू बाटोमा रहेको र केही मिनेटमा नै उपस्थित हुने जानकारी दिएका थिए । तर, कार्यक्रम सकिँदासम्म पनि उनी उपस्थित भएनन् । यसपछि उमाको पारो चढ्यो । आफ्नो भनाई राख्ने क्रममा निर्देशकमाथी उनले रिस पोखिन् ।
उनले भनिन्, ‘चलचित्र राम्रो बन्नमा सबैको हात हुन्छ । निर्देशकको त झन् महत्वपूर्ण भूमिका हुन्छ । तर, सविर जीले पटक-पटक हामीलाई धोका दिनुभएको छ । एकपटक विना कुनै जानकारी सुटिङ सेट नै छाडेर जानुभएको थियो । अहिले फोन गरेर जानकारी दिँदा समेत उपस्थित हुनु भएन ।’
आफू निर्देशित चलचित्रको कार्यक्रममा उपस्थित नहुनुको पछाडि के वास्तविकता छ त्यो सविरलाई नै थाहा होला । तर, आफूले निर्देशन गरेको चलचित्रलाई बेवास्ता गर्नु त्यो निर्देशकको धर्म भने चाहीँ होइन ।