अनमोल गुरुङले निर्देशन गर्न लागेको नयाँ चलचित्र दयाहाङ राई अनुवन्धित भएका छन् । चलचित्रको नाम ‘आप्पा’ राखिएको छ । दयाका अलावा पुराना निर्देशक तथा कलाकार तुलसी घिमिरे र अरुणा कार्कीको पनि चलचित्रमा लिड रोल रहनेछ ।
मंगलवार भारतको कालेबुङमा निर्माण टिम र कलाकारको उपस्थितिमा चलचित्रको औपचारिक निर्माण घोषणा गरियो । यसमा दयाले आप्पाको भूमिका निर्वाहा गर्नेछन् ।
माउन्टेन पिक्चर्सको ब्यानरमा बन्ने चलचित्रको छायांकन बुधवारबाट विश्वप्रसिद्ध घुम रेल्वे स्टेशनबाट सुरु भएको छ । ‘आप्पा’ फिल्म बाबु छोराको कथामा आधारित हुनेछ ।
दयाहाङले चलचित्रको कथाले आफूलाई तानेको बताए । उनले भने, ‘कथा सुनेपछि मैले यो चलचित्र छाड्नु हुन्न भन्ने लाग्यो अनि साइन गरेँ । चलचित्रको कथा युनिभर्सल छ ।’ उनले नेपाली चलचित्रको इतिहासमा यसले एउटा नयाँ आयाम निर्माण गर्नसक्ने आशा समेत व्यक्त गरे ।
निर्देशक तथा कलाकार तुलसी घिमिरेले दयाहाङसँग काम गर्नु आफ्ना लागि ठूलो चुनौती रहेको बताए । उनी भन्छन्, ‘दयाहाङ राईले नेपाली चलचित्रमा नयाँ ट्रेन्ड ल्याए । उनीहरूको कला अत्यन्तै प्राकृतिक छन् । ‘आप्पा’ फिल्ममा दयाहाङसँग काम गर्नु मलाई ठूलो चुनौती छ । मैले मेरो भुमिकालाई इमान्दार निभाउन साँच्चै गाह्रो पर्नेछ ।’
निर्देशक अनमोलका अनुसार, यस चलचित्रलाई आगामी वर्षको बुबाको मुख हेर्न दिन प्रदर्शन गर्ने जानकारी दिए ।