युवा स्टार सलिनमान बनियाँले निर्माता तथा कलाकार केशव भट्टराईको चलचित्र ‘यात्रा’ साइन गरेका छन् । यस चलचित्रको सोमवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो ।
चलचित्रमा सलिनको जोडीको रुपमा नव-नायिका मलिका महत देखिँदैछिन् । यस चलचित्रलाई सम्राट शाक्यले निर्देशन गर्दैछन् । कथा पनि उनकै हो । मुक्ति तिमल्सिना, मधु क्षेत्री र धर्मराज अधिकारीले पनि केशवसँग लगानीमा सहकार्य गरेका छन् ।
‘यात्रा : अ म्यूजिकल भ्लग’ मा सलिन र मलिकाको अलावा सलोन बस्नेत, जान्हवी बस्नेत, रेअर राई, प्रिक्षा बज्रचार्य, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
सलिनले स्क्रिप्ट राम्रो लागेका कारण काम गर्न लागेको बताए । उनले भने, ‘ए मेरो हजुर २’ भन्दा पनि राम्रो काम गर्नेछु । मेहनत गर्न कञ्जुस गर्ने छैन ।’
असोज ५ गतेलाई प्रदर्शन मिति लक गरिएको चलचित्रलाई सञ्जय लामाले खिच्नेछन् । हिमाल केसीको द्वन्द्व रहने यस चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी रहनेछ ।
शम्भुजित बाँस्कोटा, प्रतीक पौडेल, कोबिद बज्रको संगीत रहने ‘यात्रा’ लाई बनिश शाहले सम्पादन गर्नेछन् । चलचित्रले एक चर्चित भ्लगरको कथा बोल्नेछ ।