बग्गीमा चढेर प्रियंका र सञ्जयले घुमे शहर



अभिनेत्री प्रियंका कार्की र अभिनेता सञ्जय गुप्ताले बग्गीमा चढेर चलचित्र ‘ह्याप्पी डेज’ को प्रचार गरेका छन् । बैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रका कलाकारसहितको टोलीलाई ललितपुर र काठमाडौँको विभिन्न स्थानमा बग्गी चढाएर घुमाइएको छ ।

बग्गीमा प्रियंका र सञ्जय सवार थिए । अभिनेता दयाहाङ राई भने आफ्नो व्यस्त सेड्युलका कारण रथ यात्रामा शहर घुम्न सकेनन् । विहान १० बजे लगनखेलबाट सुरु भएको रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर प्रेसमिटमा परिणत भएको थियो ।

पत्रकारसँग कुराकानीको क्रममा प्रियंकाले बग्गीमा यात्रा गर्दा खुसी महशुस गरेको बताइन् । उनले भनिन्, ‘बाटोमा हामीलाई देखेर धेरै आश्चर्यमा पर्नुभएको थियो । थाहा नभएकाहरुलाई पनि चलचित्र ‘ह्याप्पी डेज’ बैशाख १४ मा हलमा लाग्दै रहेछ भने जानकारी भयो । खुसी लाग्यो दर्शकसँग फेरि पनि प्रत्यक्ष साक्षात्कार गर्न पाएँ ।’


उता, सञ्जय भने प्रियंकासँग बग्गी चढेर शहर घुम्न पाउँदा दंग देखिन्थे । उनले भने, ‘पहिलो पटक बग्गी चढेको हुँ । देशकै चर्चित नायिकासँग छेवैमा बसेर शहर घुम्दा कस्तो अनुभव भयो भन्ने कुरा शब्दमा बयान गर्न सक्दिनँ ।’ प्रियंका र सञ्जय दुबै ‘ह्याप्पी डेज’ साधारण लभस्टोरीमा मसलेदार चलचित्र बनेको बताउँछन् ।

निर्देशक मिलन चाम्सले फरक शैलीको प्रचारले दर्शकमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएकोमा खुसी व्यक्त गरे । चलचित्रको प्रदर्शनका लागि लण्डनबाट नेपाल आएका निर्माता बिपी खनालले ‘ह्याप्पी डेज’ को सुन्दर प्रचार शैली झैँ चलचित्र पनि लोभलाग्दो बनेको बताए ।

अब चलचित्रको रथ यात्रा सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सातदोबाटोमा पुगेर टुंगिने छ ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित ‘ह्याप्पी डेज’ मा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ ।

साढे २ करोडको बजेटमा निर्माण भएको चलचित्रमा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu