‘तरकारीवाली’ नामले प्रख्यात कुशुम श्रेष्ठ अभिनीत पहिलो चलचित्र ‘लम्फू’ यही बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । उनी यस चलचित्रमा राम्रो भूमिका पाएको बताउँछिन् ।
यो चलचित्र रिलिज भएपछि मात्र अन्य चलचित्रमा काम गर्ने सोच बनाएकी उनी लभस्टोरी, सामाजिक विषयवस्तु र इमोशनल खालका चलचित्रमा अभिनय गर्ने मन रहेको सुनाउँछिन् ।
उनी भन्छिन्, ‘म अहिले अध्ययनमा बढी फोकस छु । चाँडै अभिनयलाई निरन्तरता दिने सोच भने छ । ‘लम्फू’ मा राम्रो भूमिका भएका कारण काम गरेकी हुँ ।’ उनले यस चलचित्रबाट पाएको पारिश्रमिक समाजसेवामा खर्च गरेको बताइन् ।
‘एउटा फोटोको कारण मलाई यति धेरैले चिन्नुहुन्छ । यो गुन तिर्न पनि मैले ‘लम्फू’ बाट पाएको पारिश्रमिक समाजसेवामा खर्च गरेँ । आगामी दिनमा पनि म अभिनयबापत पाएको पारिश्रमिक समाजसेवामा नै खर्च गर्नेछु ।’ कुशुम भन्छिन् । उनी आफ्नो नामले गर्दा पनि ‘लम्फू’ हेर्न दर्शकहरु हलसम्म जानेमा विश्वस्त देखिन्छिन् ।
अनमोल केसी, सलिनमान बनियाँ, प्रदीप खड्का, पुष्प खड्का र पल शाहसँग स्क्रिन शेयर गर्न मन रहेको बताउने ‘तरकारीवाली’लाई निश्चल बस्नेतको चलचित्रमा हिरोइन बन्ने ठूलो रहर छ ।