काठमाण्डौ। चैत्र ३० गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लिली बिली’ले दर्शकको मन जितिरहेको छ । तीन साता अघिबाट प्रदर्शनमा आएको शत्रु गते र अन्य दुई नेपाली चलचित्रसँग जुध्नुपर्दा पनि यस चलचित्रको व्यापार गज्जबको रहेको छ । राजधानी तथा मोफसलका मल्टीप्लेक्स हलहरुमा भएको व्यापारका कारण चलचित्रको व्यापार राम्रो देखिएको छ ।
चलचित्रका निर्माता तथा वितरक गोबिन्द शाहीले दिएको आँकडालाई सहि मान्ने हो भने मंगलबारसम्म मुलुकका सबै हलमा ४ करोड ५ हजारको व्यापार देखिएको छ । निर्माता शाहिले चलचित्रले पहिलो साता करिब चार करोड ७५ लाख व्यापार गर्ने अनुमान रहेको बताएका छन् ।
शाहिका अनुसार यो चलचित्र मुलुकका ९६ सिनेमा हलमा प्रदर्शन भईरहेको छ । नेपाल सहित बेलायत, स्कटल्याण्ड र टर्कीमा छायांकन भएको ‘लिली बिली’ले सञ्चारकर्मीबाट पनि राम्रो प्रतिक्रिया पाएको छ । चलचित्रले दोस्रो साता पनि राम्रो व्यापार गर्नेमा आफुहरु विश्वस्त रहेको यसका निर्देशन मिलन चाम्सले बताएका छन् । कथाको माग अनुसार बिदेशमा छायाँकन गरेर बलिउड स्तरको सिनेमा आफुले दिन सकेको निर्देशक चाम्सको भनाई छ ।
यो चलचित्रमा नव अभिनेत्री जसिता गुरुङको अभियनले सबै भन्दा बढी चर्चा पाएको छ । त्यसो त प्रदीप खड्काको अभिनयलाई पनि दर्शकले त्यत्तिकै रुचाएका छन् । प्रियांका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ, धुब्र दत्त लगायतका कलाकारका अभिनय यो चलचित्रमा रहेको छ । लिली बिलीलाई गोबिन्द शाही, सुदीप खड्का र मिलन चाम्स्ले निर्माण गरेका हुन् ।