५० वर्ष अघिको कथा सानो पर्दामा



‘अविरल बग्दछ ईन्द्रावती’, ‘मौन आकाश’, ‘सहयात्री’, ‘कोरस’ लगायतका हिट टेलिसिरियल बनाएका निर्देशक बद्रि अधिकारीले निर्देशन गरेको टेलिचलचित्र ‘मानव’ नयाँ बर्षको छेको पारेर बैशाख १ गतेबाट प्रसारणमा आउने भएको छ ।

सामाजिक कथामा निर्माण गरिएको टेलिचलचित्र मानव जनता टेलिभिजनमा हरेक शनिवार राति ८ः४५ बजे प्रसारणमा आउन लागेको हो ।

मदन पुरस्कार प्राप्त वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको महाकाव्य मानवमा आधारित भएर निर्देशक अधिकारीले मेगा टेलिचित्रका रुपमा मानव निर्माण गरेका हुन् । टेलिचलचित्र मानवलाई जनता टेलिभिजनले नै निर्माण गरेको हो ।

झण्डै आधा दर्जन फिल्म निर्देशन गरिसकेका बद्रि अधिकारीले मानवलाई सामाजिक भावनामा बनाइएको बताए । उनले भने–’मानव–मानवबीच विद्यमान उत्पीडनको कथा टेलिश्रृंखला मानवमा रहेको छ । एक मानवले अर्को मानवलाई दिएको मानवीय पीडा माथिको यथार्थ मानव मार्फत देखाएका छौं ।’

निर्देशक अधिकारीका अनुसार टेलिश्रृंखला मानवले पाँच दशक अघिको नेपाल र सामाजिक अवस्थालाई चित्रण गरिनेछ ।

५५ भागको टेलिश्रृंखला मानवमा सुशील पोखरेल, अस्मिता बस्नेत, श्याम खड्का, शारदा अधिकारी, लक्ष्मण विक्रम बस्नेत, अञ्जान शर्मा, अर्जुन न्यौपाने, आना देउजा, शिशिर शिवाकोटी, उमा बाँनिया, कमल बोहरा र किशोर कोईराला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

मोदनाथ प्रश्रितको महाकाव्यमाथि निर्माण गरिएको मानवको लेखन निर्देशक अधिकारी आफैंले गरेका हुन् भने सागर खड्का र विरेन्द्र भट्टले खिचेका छन् ।

दीपेन्द्र दोङ तामाङ कार्यकारी निर्माता हुन् । यस्तै, प्रमुख सहायक निर्देशक किशोर कोईराला, सम्पादन हरि सिलवाल, संगीत शिलाबहादुर मोक्तान, गीत राजेन्द्र थापा, स्वर दीप श्रेष्ठ र शारदा अधिकारीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu