अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले आफू अभिनीत चलचित्र ‘डमरुको डण्डीबियो’ मा पारिवारिक कथासँगै मायाप्रेम देखाइएको कलाकार तथा लेखक खगेन्द्र लामिछानेले बताएका छन् । यो चलचित्र बैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।
चलचित्रको मोफसल टुरमा निस्किएका उनले आफूले लेख्ने र खेल्ने चलचित्र व्यबसायिकताका लागी मात्रै नहुने बताए ।
बुधवार चलचित्र पत्रकार संद्य कास्कीले पोखरामा आयोजना गरेको एक कार्यक्रममा लामिछानले भने, “मैले लेख्ने र खेल्ने चलचित्र व्यबसायिकताको लागी मात्रै हुँदैन । मलाई यो बिषय गहन हो भन्ने लाग्यो भने कथा लेख्छु । चल्ने नचल्ने फरक पाटो हो ।”
उनले गतबर्ष राष्ट्रिय खेलबाट हटाइएको डण्डीबियो खेललाई चलचित्रमा देखाइएको जानकारी दिए । यस्तै, कलाकार बुद्धि तामाङ चलचित्रले पछिल्लो समय युवा पुस्ताले बिर्सेको डण्डिबियो खेललाई स्मरण गराउनेसँगै खेलको महत्व झल्काउने बताउँछन् ।
पर्यटन व्यवसायी समेत रहेका निर्माता बिनोद गुरुङले बन्दै आएका अन्य नेपाली चलचित्रभन्दा विल्कुल फरक स्वादमा चलचित्र बनेको बताए ।
चलचित्रमा मेनुका प्रधान, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगिहोपू कोइंच सुनवार, नमिता घिसिङ लगायतको अभिनय रहेको छ ।
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा नोर्वु छिरिङ घले र विनोद गुरुङको लगानी छ । छेतेन गुरुङले निर्देशन गरेका हुन् ।
पोखराबाट औपचारिक रुपमा सुरु भएको चलचित्रको प्रचार अब बुटवल, नारायणघाट, हेटौंडा, दमक हुँदै बिर्तामोडसम्म हुनेछ ।