कलाकार वुद्दि तामाङले चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नेप्टे’ दर्शक खुसी बनाउने चलचित्र बनेको बताए । उनी आफूले अन्य चलचित्रमा गरेको भूमिकाभन्दा यसमा फरक रहेको बताउँछन् ।
यस चलचित्रमा केटीका लागि वुद्दिसँगै रोहित रुम्बा र ए गुरुङबीच द्वन्द्व देख्न सकिन्छ । एक गीतमा उनले अभिनेत्री पूर्णिमा लामासँग रोमान्स गरेका छन् ।
रोमान्टिक अवतारमा प्रस्तुत हुनुभएको छ हो ? भन्ने पत्रकारको प्रश्नमा वुद्दि भन्छन्, ‘मलाई रोमान्टिक अवतार फाप्दैन र म सक्दिनँ पनि । रोमान्टिक भन्दा पनि सिच्वेसनको हिसाबमै छ । रोमान्टिक सिन अलि-अलि मेरो भागमा पनि परेको छ ।’
आर रोसफी फिल्मस्को ब्यानरमा निर्माण भएको ‘नेप्टे’ मा बुद्धिका अलावा रोहित रुम्बा, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, कमलेश बराल, अरुणा कार्की, प्रनिशा सिलवाल र जयकिशन बस्नेतको अभिनय छ ।
देवकुमार श्रेष्ठले चलचित्र निर्देशन गरेका हुन् भने रोहितले निर्माण गरेका छन् । चलचित्रमा रोहित रुम्बाको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, रोशन श्रेष्ठको द्वन्द्व, तारा थापा किम्भेको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी र हरि घले लामाको छायांकन छ।