निर्देशक दिनेश राउतको निर्देशनमा चलचित्र ‘प्रसाद’ बन्ने भएको छ । चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता विपिन कार्की लिड रोलमा रहनेछन् ।
यस चलचित्रको सोमवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा औपचारिक निर्माण घोषणा गरियो ।
निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा चलचित्रले बोल्ने निर्देशक राउतले जानकारी दिए ।
उनी भन्छन्, ‘लभस्टोरी चलचित्र निर्देशन गर्दैगर्दा मैले थ्रिलर जनराको ‘पर्व’ बनाएँ । ‘प्रसाद’ फ्यामिली ड्रामा हो । रुवाउन र हँसाउन त नसक्ला तर यस चलचित्रले सोच्न भने बाध्य बनाउँछ ।’
अभिनेत्री नम्रताले चलचित्रको स्टोरी उत्कृष्ट लागेको कारण काम गर्न लागेको बताइन् । यस्तै, अभिनेता विपिनले कथाझैँ चलचित्र पनि उतिक्कै रसिलो बन्नेमा विश्वस्त रहेको बताउँछन् ।
पर्दामा नम्रता र विपिन श्रीमान-श्रीमतिको भूमिकामा रहनेछन् । यस चलचित्रको कथा पत्रकार सुशील पौडेलले लेखेका हुन् । उनले आफूले बुझेको र देखेको समाजको एक घट्नालाई कथामा उतार्ने प्रयास गरेको बताए ।
उनी भन्छन्, ‘यदी चलचित्र दर्शकको मनसम्म बस्न सके म आफूलाई भाग्यमानी ठान्नेछु नभए मैले अझै मेहनत गर्नुपर्छ भन्ने पाठ सिक्ने छु ।’
चलचित्र ‘प्रसाद’ मा नवीन मानन्धरको पनि प्रमुख भूमिका रहनेछ । सुभाष थापा निर्माता रहेको चलचित्रको छायांकन बैशाख पहिलो साताबाट सुरु हुनेछ । राजेश श्रेष्ठले खिच्ने चलचित्रमा कोशिस क्षेत्री र सुवास भुषालको संगीत सुन्न सकिनेछ ।