मिलन चाम्स भन्छन्, ‘३ वर्षभित्रमा चलचित्र निर्देशनबाट सन्यास लिन्छु’



चलचित्र ‘हँसिया’ बाट निर्देशन विधामा अगाडि बढेका निर्देशक मिलन चाम्सले अबको ३ वर्षभित्रमा चलचित्र निर्देशनबाट सन्यास लिने उद्घोष गरेका छन् ।

सोमवार पत्रकारसँगको संक्षिप्त कुराकानीको क्रममा उनले भने, ‘अबको २ वा ३ वर्षभित्रमा म चलचित्र निर्देशनबाट हात झिक्नेछु ।’

कारण के होला ? चलचित्रप्रति वितृष्णा जागेको हो ? पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘वितृष्णा जागेको होइन । मैले चलचित्रका लागि भनेर धेरै कुरा त्याग गरेको छु । दरबारमार्गमा चलिरहेको होटल छाडेँ । एक्सपोर्ट-इनपोर्टको विजनेश छाडेँ । चलचित्रका लागि भनेर मैले धेरै त्याग गरेको छु । चलचित्रको विषयमा कसैले नराम्रो बोल्यो भने मलाई रिस उठ्छ ।’


‘मैले सन्यास दिँदै गर्दा चलचित्र निर्देशन छाड्नुको सबै कारण खुलाउनेछु ।’ उनी भन्छन्, ‘यहाँ मेकर्सले मेकर्सकै खुट्टा तान्ने प्रवृति छ । कलाकारले कलाकारकै नराम्रो भनिरहेका हुन्छन् । यो देख्दा मलाई साह्रै पीडा हुन्छ । मैले चलचित्रबाट सन्यास लिनुको कारण यो पनि हुनसक्छ ।’

चलचित्र निर्देशनबाट सन्यास लिएपछि उनी आफ्नो विजनेशलाई अगाडि बढाउने सोचमा छन् ।

उनले निर्देशन गरेको नयाँ चलचित्र ‘लिलिबिली’ चैत ३० गतेबाट प्रदर्शनमा आउँदैछ । यस्तै, उनले ‘वीर विक्रम’, ‘ब्लाइन्ड रक्स’, ‘बोबी’ र ‘ह्याप्पी डेज’ चलचित्र समेत निर्देशन गरिसकेका छन् । ‘लिलिबिली’ रिलिज लगत्तै उनी ‘वीर विक्रम २’ को तयारीमा जुट्दैछन् ।

‘लिलिबिली’ कस्तो छ त ? पत्रकारको प्रश्नमा उनी जवाफ दिन्छन्, ‘कस्तो छ भन्ने कुरा दर्शकको प्रतिक्रिया सुनेपछि थाहा हुनेछ । हामीले राम्रो दिन कुनै कसर बाँकी राखेका छैनौं । मलाई लाग्छ नेपाली चलचित्र इन्डष्ट्रीले गर्व गर्न लायकको चलचित्र बनेको छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu