चलचित्र ‘शत्रु गते’ सफलतापुर्वक प्रदर्शन भईरहेको छ । गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ लाई दर्शक मार्फत वर्ड अफ माउथ राम्रो मिलेकै कारण तेस्रो सातामा सानदार प्रवेश गर्न सफल भएको छ ।
फ्यामिली ड्रामा चलचित्रलाई दर्शकले रुचाएपछि चलचित्र प्रदर्शन भइरहेको अधिकांश हलमा यसले निरन्तरता पाएको छ । तेस्रो सातामा प्रवेश गर्दा ८ करोड भन्दा बढीको ग्रस कलेक्सन गर्न सफल चलचित्र चर्चामा पनि छ ।
गीतसंगीत, ट्रेलर र स्टारकास्टको कारण चर्चामा आएको चलचित्रलाई पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले हेरेका छन् ।
राजधानी स्थित बागबजारमा रहेको सिटी म्याक्स हलमा उनीहरुसँगै एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, बेदुराम भुषाल, एमाले केन्द्रिय विभाग सदस्य रामेश्वर श्रेष्ठले हेरेका हुन् । चलचित्र हेरिसकेपछि सबैले चलचित्रले भरपुर मनोरञ्जन दिएको बताएका छन् ।
चलचित्र हेरेपछि माधवकुमार नेपालले भने, ‘युवादेखि बृद्धसम्मका दर्शकलाई हलसम्म तान्ने फर्मुला यसमा छ । चलचित्रमा सबैको भूमिका उत्तिकै राम्रो छ, म धेरै ठाउँमा मज्जाले हाँसे ।’ यस्तै, नारायणकाजी श्रेष्ठले ‘शत्रु गते’ लाई मनोरञ्जनको प्याकेज बताए ।
चलचित्रलाई ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टाराईले निर्देशन गरेका छन् । ‘चलचित्र रिलिजको समयमा एसईई लगायतका धेरै परिक्षा थियो, त्यसैले त्यसबेला चलचित्र हेर्न नपाएका दर्शक यतिबेला हल आइरहनु भएको छ’ निर्देशक भट्टराई भन्छन ‘चलचित्रलाई दर्शकले रुचाउनु भएको यो नै हाम्रो सफलता हो ।’
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल, रमेश रञ्जन झा लगायतको अभिनय रहेको छ ।