प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली चलचित्र क्षेत्रलाई थप बलियो बनाउन भारत र नेपाली चलचित्र क्षेत्रबीच सहकार्य हुन आवश्यक रहेको बताएका छन् ।
शुक्रवार काठमाडौंको आर्मी अफिसर्स क्लबमा आयोजित दोस्रो ‘फान अवार्ड’ लाई सम्बोधन गर्ने क्रममा ओलीले चैत २३ गते भारत भ्रमणमा निस्कँदा एक नेपाली कलाकार साथमा लिएर जाने वचन पनि बोले
उनले भने, ‘मैले चैत २४ गते भारतका चर्चित कलाकारहरुसँग छलफल गर्ने भएको छु । डिनरसहित । उहाँहरुलाई मैले नेपाल जस्तो सुन्दर देशमा सुटिङका लागि आउन आग्रह गर्नेछु । र, पहिलो पटक प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा एक नेपाली कलाकार पनि हुनेछन् ।’
‘क्यानाडामै गएर चलचित्र खिचे पनि ब्याकग्राउन्ड राम्रो भएन भने त्यसको अर्थ हुँदैन । चलचित्र राम्रो बन्नका लागि लोकेशन पनि राम्रो हुन आवश्यक छ । त्यो सुन्दरताले भरिपूर्ण देश नेपाल हो । यसकारण म भारतीय कलाकारहरुलाई नेपालमा सुटिङका लागि आउन आग्रह गर्नेछु ।’ प्रधानमन्त्री ओलीले भने ।
उनले भारत भ्रमणबाट फर्किए लगत्तै भारत र नेपाली कलाकारबीच काठमाडौंमा सरकारकै अग्रसरतामा ‘चलचित्र सम्मेलन’ आयोजना गर्ने पनि उद्घोष गरे ।
उनले थपे, ‘म पनि कलाको प्रेमी हुँ । यो देश कलाले भरिपूर्ण छ । भारत जस्तो शक्तिशाली देशसँग हाम्रो सहकार्य आवश्यक छ । यसैले त्यहाँको चलचित्र इन्डष्ट्री र नेपाली चलचित्र क्षेत्रबीच सहकार्य गरेर उल्लेख्यनीय काम गर्न आवश्यक देख्दछु । यसका लागि म आफैं अग्रसर हुनेछु ।’
सम्बोधनको क्रममा प्रधानमन्त्री ओली थप्छन्, ‘नेपाल ह्यान्डसम र ब्यूटिफूलहरुको देश हो । तपाईहरु आफ्नो अभिनय कला कथा अनुसार होइन देशको माग अनुसार ढाल्नुस् । के देशको माग अनुसार अभिनय गर्दा ग्ल्यामरस देखिँदैन र ?’