प्रदर्शनको दोस्रो हप्तामा पनि चलचित्र ‘मंगलम’ ले हाउसफूल दर्शक पाएको छ । फागुन २५ गतेबाट प्रदर्शनमा आएको चलचित्र हेर्ने दर्शक सिंगल र मल्टिप्लेक्समा सबैतिर उल्लेख्य रहेको वितरक गोपाल कायस्थले जानकारी दिए ।
‘दोस्रो सातामा पनि चलचित्र हेर्ने दर्शक देखेर म आफैं चकित भएको छु । पहिलो हप्ताभन्दा दर्शक बढेको पाइयो । शनिवार देशैभर हाउसफूलको रिपोर्ट प्राप्त छ ।’ वितरक कायस्थ बताउँछन् ।
उनले चलचित्रको यकिन कलेक्सन रिपोर्ट भने दिन चाहेनन् । कायस्थ थप्छन्, ‘चलचित्रको विजनेशको त हिसाब-किताब नै गर्नुपर्छ । करोड चाहिँ मज्जाले नाघिसक्यो ।’
दर्शकबाट मिलेको उच्च वर्ड अफ माउथले चलचित्रको विजनेशमा ठूलो प्रभाव परेको छ । कायस्थका अनुसार शनिवार बिहानैदेखि गोपीकृष्णका २ वटा पर्दा र अष्टनारायणको हजार सिट संख्याको हल हाउसफूल रहे ।
राजधानीका अन्य गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा पनि चलचित्रले पकड जमाएको छ । दर्शकको उत्साहजनक उपस्थितिका कारण दोस्रो सातामा राजधानीका मल्टिप्लेक्सले ‘मंगलम’ लाई थप शो उपलब्ध गराएको छ ।
शनिवार राजधानीका विभिन्न हल पुगेर चलचित्रका कलाकारले दर्शकसँग प्रत्यक्ष भेटघाट गरे । सँगै बसेर चलचित्र हेरे भने भ्याएसम्म दर्शकसँग सेल्फी पनि खिचे । हलमा अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेलको क्रेज गज्जब देखिन्थ्यो । दर्शकको साथ र माया देखेर दुबै दंग देखिन्थे ।
दर्शकले धेरैपछि उत्कृष्ट पारिवारिक चलचित्र हेर्न पाएको प्रतिक्रिया दिएका छन् । काठमाडौं बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको छ ।
शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्वीराज प्रसाईँ, मिथिला शर्मा, नीर शाह लगायतका कलाकारहरुको चलचित्रमा प्रमुख भूमिका छ । नवल नेपाल निर्देशित तथा छविराज ओझा निर्मित ‘मंगलम’ लाई ‘पर्ख पर्ख मायालु’ बोलको गीतका कारण पनि हलसम्म दर्शक तान्न सहज भएको छ ।