‘पञ्चायत’ बाट होला नीताको हाईहाई ?



ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘पञ्चायत’ भोली शुक्रवारबाट देशैभर प्रदर्शनमा आउँदैछ । अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुंगाना चलचित्रमा प्रमुख भूमिकामा छन् । चलचित्रको कथा नै यी दुईको वरिपरि घुमेको छ ।

सरोजले गाउँको प्रमुख व्यक्तिको भूमिका निर्वाहा गरेका छन् भने, नीता १४ वर्षकी किशोरीको रुपमा प्रस्तुत भएकी छिन् । विशेषतः उक्त चलचित्र अभिनेत्री नीताका लागि महत्वपूर्ण छ ।

फिल्म ‘मसान’ पछि उनका सम्झनलायक चलचित्र छैनन् । न त बक्सअफिसमा नै उनका चलचित्र सफल साबित भएका छन् । लगालग फिल्म असफल भइरहे पनि उनको हातमा चलचित्रको कमी भने छैनन् । एकपछि अर्को चलचित्रमा व्यस्त भइरहेकी छिन् । ‘अनलक्की’ नायिकाको रुपमा चिनिन थालेका कारण उनलाई ‘पञ्चायत’ बक्सअफिस हिट हुन अत्यन्त आवश्यक छ ।

केही दिन अगाडि राजधानीमा गरिएको भिआईपी शोमा चलचित्रले राम्रो तारिफ पाएको थियो । नीता अब दर्शकको प्रतिक्रिया लिन आतुर छिन् । २५ वर्षको उमेरमा १४ वर्षे किशोरीको भूमिका निर्वाहा गर्नु आफ्ना लागि चुनौती रहेको नीता बताउँछिन् ।


उनी भन्छिन्, ‘७ वर्ष अगाडि नै मकहाँ यो चलचित्रको स्क्रिप्ट आएको थियो । त्यतिबेला मैले त्यो भूमिकामा फिट हुँदिन भनेर रिजेक्ट गरेँ । फेरि निर्देशक शिवम् अधिकारीले मलाई १४ वर्षे युवतीको भूमिका निर्वाहा गर्न सक्छौं भनेर आत्मविश्वास दिलाउनुभयो । राम्रो स्क्रिप्ट भएका कारण मलाई चलचित्र छोड्न मन थिएन । अनि, ‘पञ्चायत’ गरेँ ।’

चलचित्रमा निर्वाहा गरेको भूमिकालाई दर्शकले कस्तो भन्नेहुन् भन्नेमा पनि उनीलाई खुब डर र चिन्ता छ । चलचित्रकर्मीले भने यस चलचित्रमा निर्वाहा गरेको भूमिकापछि नीताले आफूलाई ‘भर्सटायल’ अभिनेत्रीको रुपमा उभ्याउन सफल भएको प्रतिक्रिया दिएका छन् ।

चलचित्रमा शिवम अधिकारीको लेखन र निर्देशन छ । ‘पञ्चायत’ मा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको पनि अभिनय छ ।

ग्रामीण परिवेश र पुरानो संस्कृति झल्काउने चलचित्रमा गणेश गिरीको प्रस्तुति तथा सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानी छ ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा टंक बुढाथोकीको संगीत, रामेश्वर कार्कीको छायांकन र विपिन मल्लको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu