१४ मार्च १९६५ मा मुम्बईमा जन्मेका बलिउड सुपरस्टार आमिर खान ५२ वर्ष पुरा भई ५३ वर्षमा प्रवेश गरेका छन् । उनी आफ्नो जन्मदिन साधारण तरिकाले मनाउँछन् । परिवार र साथीभाइबीच केक काट्छन् । उनीहरूसँगै रात्रिभोज गर्छन् ।
रात्रिभोजमा आमिरकी आमाले विशेष गरी शिख कबाब पकाउँछिन् । जो आमिरलाई अति मन पर्छ । यसबाहेक बिरयानी पनि उनको जन्मदिनमा अवश्य पाक्छ ।
आमिर अभिनेतामात्र होइनन्, खेलाडी पनि थिए । अभिनेता बन्नुअघि उनी टेनिस खेलाडी थिए । उनले कतिपय राज्यस्तरीय च्याम्पियनसिपमा भाग लिएका छन् ।
करिअरको सुरुमा आफ्नो चकलेटी छविले लाखौँको मन जितेका आमिरले वर्षमा एक मात्र चलचित्र खेल्ने गरेका छन् । आमिरले १९७३ मा ‘यादो की बारात’ चलचित्रमा बाल कलाकारको रुपमा आफ्नो करिअरको सुरुवात गरेका थिए ।
१९८४ मा बनेको चलचित्र ‘होली’ बाट उनले अभिनेताको रुपमा आफ्नो करियरको आरम्भ गरे । उनले ‘लगान’, ‘दिल चाहता है’, ‘तारे जमिन पर’, ‘गजनी’, ‘पीके’, ‘थ्री इडियट्स’, ‘धूम-३’, ‘दंगल’ जस्ता ब्लकबस्टर चलचित्र आफ्ना प्रशंसकहरुलाई पस्किसकेका छन् ।