शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएका तीन नेपाली चलचित्र ‘मंगलम’, ‘गाजा बाजा’ र ‘हुर्रे’ ले दर्शकको राम्रो साथ पाएका छन् । तर, ‘मंगलम’ अन्य दुई चलचित्रभन्दा व्यापारमा केही माथी छ ।
अभिनेत्री शिल्पा पोखरेल स्टारर यो चलचित्रले सुखद ओपनिङ गरेको छ । शुक्रवार ५५ प्रतिशत रहेको चलचित्रको अकुपेन्सी शनिवार करीब शतप्रतिशत रह्यो । बिहानी, दिवा र रात्री शो राजधानी सहित देशैभरका अधिकांश सिंगल स्कृनमा ‘मंगलम’ हाउसफुल छ । राजधानीका मल्टिप्लेक्समा पनि शनिवार बिहानैदेखि दर्शकको चाप देखिन्थ्यो ।
राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा चलचित्रले पकड जमाएको छ । काठमाडौं बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको वितरक कम्पनी एफडीले जानकारी दिएको छ । शनिवार राजधानीका विभिन्न हल पुगेर फिल्मका कलाकारले दर्शकसँग साक्षात्कार गरे ।
नवल नेपाल निर्देशित तथा छविराज ओझा निर्मित उक्त चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको पनि अभिनय छ ।
मल्टिप्लेक्स लक्षित फिल्म ‘गाजा बाजा’ ले पनि आशातित ओपनिङ गरेको छ । शुक्रबार र शनिवार यो चलचित्रलाई अधिकांश दर्शकले मन पराएका छन् । युवा वर्गका दर्शकले धेरैपछि फरक स्वादको चलचित्र हेर्न पाएको प्रतिक्रिया दिएका छन् ।
निर्देशक गणेश देव पाण्डे आइतवारबाट दर्शकको चाप सिनेमा घरमा बढ्नेमा विश्वस्त रहेको बताउँछन् । ‘चलचित्र हेरेका दर्शकले नराम्रो बोलेका छैनन् । हाम्रो लागि यही ठूलो सफलता हो ।’, उनले भने ।
चलचित्रमा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बालगायतको अभिनय रहेको छ ।
उता यम थापा निर्देशित चलचित्र ‘हुर्रे’ को पनि वर्ड अफ माउथ राम्रो छ । स्टारकास्टले भरिपुर्ण चलचित्र हेर्न शुक्रवारभन्दा शनिवार दर्शकको चाप बढेको पाईएको छ । ‘हुर्रे’ ले जति हल पाएको छ शनिवार ती लगभग हाउसफूल रहे । हलसम्म पुगेका दर्शकले चलचित्रलाई राम्रो बोलेका छन् ।
अनुपविक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खडका लगायतका कलाकारहरु चलचित्रमा लिड रोलमा छन् ।