फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘गाजा बाजा’ को टिम अहिले मोफसल दौडमा छ । यो चलचित्रको प्रदर्शन मिति नजिकिँँदै गर्दा पोखराबाट यसको प्रचार प्रसार सुरु गरिएको हो ।
चलचित्रका निर्देशक गणेशदेव पाण्डे, अभिनेता अमर सुवेदी, रबिन थापा लगायत अहिले मोफसलमा छन् । शनिबार पोखरा र आईतबार बुटबल, नारायणघाट र हेटौंडामा यो चलचित्रको पत्रकार भेटघाट गरियो ।
भेटघाटका क्रममा निर्देशक गणेश देब पाण्डेले यो पारिवारिक र हास्य प्रधान चलचित्र भएको बताएका छन् । ‘गाजा बाजा’ ले दर्शकलाई हँसाउने र पूर्ण मनोरञ्जन दिने पनि निर्देशक पाण्डेले बताएका छन् ।
पोखराबाट सुरु भएको मोफसल यात्रा पूर्व दमकमा पुगेर सम्पन्न हुनेछ । यसलाई दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । चलचित्र पारिवारिक भएकाले सबैले सँगै बसेर हेर्न मिल्ने निर्माता रेग्मीले बताए । ‘गाजा बाजा’ लाई सँगै बसेर हेर्दा अभिभावक देखि सन्तानसम्मले सकारात्मक सन्देश पाउने पनि निर्माता रेग्मीले जानकारी गराए ।
चलचित्रमा अनुपम शर्मा, शुशील सिटौला, उद्दव भट्टराई, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।
याकोपो रास्लिकले खिचेको चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा ‘गाँजा बाजा’ निर्माण भएको हो ।