प्रत्येक वर्ष चलचित्र बनाउने ‘ब्लाइन्ड रक्स’ निर्माताको घोषणा



‘हँसिया’, ‘रातो घर’ र हाल प्रदर्शनरत चलचित्र ‘ब्लाइन्ड रक्स’ का निर्माता निकेश लिम्बु यूकेमा बसोबास गर्छन् । तर, उनी नेपाली चलचित्र निर्माणमा उतिक्कै सक्रिय छन् ।

यूकेमा दर्ता भएको निकेशको आफ्नै प्रोडक्शन कम्पनी ‘एण्ड फिल्मस् एण्ड क्रियशन’ बाट अब प्रत्येक वर्ष एक ब्यवसायिक चलचित्र निर्माण हुने भएको छ । आइतवार पुनः यूके फर्किन लागेका उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस विषयमा जानकारी दिए ।

निकेश भन्छन्, ‘केही चलचित्र पाइप लाइनमा छ । अहिले म त्यसैको होमवर्क गरिरहेको छु । सम्पूर्ण तयारी पूरा भएपछि चलचित्रको नाम घोषणा गर्नेछु ।’ उनले अपेक्षा गरे झैँ ‘ब्लाइन्ड रक्स’ ले दर्शकको साथ नपाएको पनि खुलाए ।


उनी भन्छन्, ‘यो चलचित्र ब्यवसायिक रुपमा भन्दा पनि समाजलाई केही दिऊँ भन्ने सोचका साथ निर्माण गरेको थिएँ । चलचित्रबाट म आफू भने खुसी छु ।’

उनी नेपालबाट नभए पनि आफ्नो लगानी विदेश प्रदर्शनबाट सुरक्षित हुनेमा विश्वस्त देखिन्छन् । उनका अनुसार, सिंगापुर, अष्ट्रेलिया, अमेरिकालगायतका देशमा चलचित्र ‘ब्लाइन्ड रक्स’ प्रदर्शनको तरखरमा छ ।

‘म अहिलेसम्मको अवस्थामा विदेशबाटै ६० प्रतिशत सुरक्षित भइसकेको छु ।’, निकेश अगाडि भन्छन्, ‘यो चलचित्र मैले नाफा कमाउनका लागि भने निर्माण गरेको होइनँ ।’

दृष्टिविहीन यूवती सृष्टि केसीको जीवनमा आधारित ‘ब्लाइन्ड रक्स’ मा वेनिशा हमाल, गौरी मल्ल, अर्पण थापा लगायतका कलाकारहरुको प्रमुख भूमिका छ । चलचित्रका निर्देशक मिलन चाम्स हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu