बलिउड सुपरस्टार सलमान खानको नेपाल कार्यक्रम स्थगित भएको छ । नेत्रविक्रम चन्द विप्लबको अखिल नेपाल जन सांस्किृतिक महासंघले यस कार्यक्रमको खारेज गर्न माग गर्दै विरोध गरेपछि फागुन २६ गते हुन लागेको ‘द ब्यांङ’ कार्यक्रम स्थगित भएको हो ।
आयोजक ओडिसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङले तत्कालका लागि सुरक्षाका कारण सलमान नेपाल आउन नसक्ने जानकारी दिएका छन् । उनका अनुसार, अबको चारदेखि पाँच हप्ताको बीचमा फेरि कार्यक्रम आयोजना गरिनेछ ।
कार्यक्रम हुने निश्चित भएको भन्दै केही हप्ता अगाडि सलमानका भार्इ तथा आयोजक समेत रहेका सोहेल खानले काठमाडौंमा पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए ।
कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने बताइएको थियो ।
सलमानले आफू नेपाल आउन लागेको जानकारी आफ्नो आधिकारिक फेसबुक र ट्विटरबाट समेत दिएका थिए । खबरअनुसार, उनले नेपाल आउने कार्यक्रम स्थगित भएको जानकारी साँझसम्ममा सामाजिक सञ्जालमार्फत दिँदैछन् ।
सलमानले ‘द ब्याङ्ग टुर’ नेपालका लागि भनेर अग्रिम ५ करोड रुपैयाँ बुझिसकेका छन् भने, आयोजक संस्थाले करीब ५ हजारभन्दा बढी टिकट विक्री गरिसकेको छ ।