यतिबेला चलचित्र ‘जय शम्भु’ को छायांकन धमाधम भइरहेको छ । यही चलचित्रको एक एक्सन सिनका लागि ह्यान्डसम भिलेन प्रशान्त ताम्राकारले धनाड्य परिवारकी छोरी वर्षाको किडन्याप गर्न लगाउँछन् ।
हाल चलचित्रको छायांकन चलचित्र विकास कम्पनी बालाजुमा भइरहेको छ । बुधवार सुटिङ सेटमा पुग्दा अभिनेत्री सिवाकोटी आफ्नो भागको सिन दिँदै थिइन् । एक कुर्सीमा उनलाई डोरीले बाँधिएको थियो ।
उता, अभिनेता अनुप विक्रम शाही आफ्नो सिन दिनका लागि मेकअपमा व्यस्त देखिन्थे । संक्षिप्त कुराकानीको क्रममा उनले ‘जय शम्भु’ एक्सन प्रधान चलचित्र रहेको बताए । निर्देशक रुपेश तामाङका अनुसार, अहिले अनुप, प्रशान्त र वर्षाको परिचयात्मक एक्सन सिन खिच्ने काम भइरहेको छ ।
चलचित्रको सुटिङ एकसाथ चार क्यामराले भईरहेको छ । एक्सन सिनका लागि निर्माण टिमले लाखौं रकम खर्च गरेको छ । सेट तयार पार्न १० लाख बढी खर्च भएको र सेटसँगै लाखौंको प्रोपर्टी राखिएको चलचित्रका प्रस्तुतकर्ता दिनेश शाहीले जानकारी दिए । उनका अनुसार, सेटको लागि ३ वटा पुराना कार र एउटा जिप खरिद गरिएको छ ।
द्वन्द्व निर्देशक श्री श्रेष्ठले चलचित्र ‘जय शम्भु’ मा गाडीलाई रिङ्गमा घुमाउने, १० फिट उचाईमा गाडी उडाउने लगायतका सिनहरु रहने बताए । चलचित्रको ८० प्रतिशतभन्दा बढी सिन काठमाडौंमा खिचिने छ भने, बाँकी अन्नपूर्ण बेसक्याम्पमा खिच्ने तयारी भइरहेको छ ।
चलचित्रमा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय रहने छ । चलचित्रको कार्यकारी निर्मातामा राजकुमार नगरकोटी र चक्र पाख्रिन रहेका छन् । यस्तै, अरविन्द्र शाक्य चलचित्रका निर्मातामा छन् । हरि घले लामा चलचित्रका छायाँकार हुन् ।
चलचित्रमा प्रदीप र अर्जुन पोखरेलको संगीत, रुपेश तामाङ र प्रदीपको शब्द, प्रमोद खरेल, मिना निरौला, अञ्जु पन्त र सुगम पोखरेलको स्वर, रामजी लामिछानेको कोरियोग्राफी, प्रविण ढकालको सम्पादन रहने छ ।