सृष्टि जस्तै देखिनु मेरो लागि चुनौतीपूर्ण : वेनिशा हमाल



दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण भएको बायोपिक चलचित्र ‘ब्लाइन्ड रक्स’ फागुन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

नायिका वेनिशा हमालले पर्दामा सृष्टिको भूमिका निर्वाहा गरेकी छिन् । चलचित्रमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । निकेश लिम्बु निर्मित यो फिल्मका निर्देशक मिलन चाम्स हुन् ।

युट्युबमा सार्वजनिक भएको ट्रेलरबाट गतिलै प्रतिक्रिया आइरहँदा वेनिशा भने ‘ब्लाइन्ड रक्स’ आफ्नो लागि अवसर र चुनौती दुवै रहेको बताउँछिन् । उनी भन्छिन्, ‘बायोपिक चलचित्र गर्नु आफैंमा चुनौतीपूर्ण हुन्छ । मलाई सृष्टि जस्तै देखिनु पर्ने चुनौती थियो । र, त्यो चुनौती सँग-सँगै अवसर पनि साथमा नै थियो । चुनौती मोलेर काम गर्नुमा मज्जा पनि आउँदो रहेछ ।’

वेनिशाले अगाडि थपिन्, ‘ट्रेलर रिलिज भएपछि मलाई धेरैले अनुहारमा पिम्पल्स देखिँदा नराम्रो देखियो भन्नुभयो । तर, वास्तविकता के हो भने मैले सृष्टि जस्तै देखिनका लागि ६ केजी तौल घटाउनुको साथ- साथै पिम्पल्स पनि लिएर आएकी थिएँ ।’ उनले भविष्यमा पनि सबैले सम्झने भएका कारण बायोपिक चलचित्र ‘ब्लाइन्ड रक्स’ रोजेको बताइन् ।


‘ब्लाइन्ड रक्स’ मा काम गरेपछि दृष्टिविहिन र अपाङगता भएकाहरुप्रति हेर्न मेरो दृष्टिकोणमा पनि परिवर्तन आयो ।’ वेनिशा भन्छिन्, ‘दृष्टि गुमाएकाहरु पनि दृष्टि भएकाहरु जत्तिकै सक्षम छन् । देख्न सक्दैन भन्दैमा उहाँहरुलाई विशेष व्यवहारको आवश्यकता छैन । उहाँहरु पनि सामान्य मानिस सरह हुनुहुन्छ । उहाँहरु हामी जस्तै सक्षम हुनुहुन्छ ।’

चलचित्रको विषयमा निर्देशक चाम्स भन्छन्, ‘सृष्टिको वास्तविक जीवन फिल्मभन्दा कम छैन । जहाँ मायाप्रेम भेटिन्छ, संघर्ष भेटिन्छ । फिल्ममा सृष्टिको १४ वर्षको उमेरदेखि २४ वर्षसम्मको कहानी छ ।’

‘ब्लाइन्ड रक्स’ प्रिमियरका लागि बेलायतबाट नेपाल आएका निर्माता निकेश आफ्ना लागि चलचित्रको व्यवसायिक सफलताभन्दा पनि दर्शकको मन जित्नु सबैभन्दा ठूलो सफलता रहेको बताउँछन् ।

यस्तै, सृष्टि केसीले आफ्नो जीवनमाथी चलचित्र बन्नु सबैभन्दा ठूलो उपलब्धी रहेको बताइन् । उनले भनिन्, ‘ब्लाइन्ड रक्स’ ले मेरो फिलोसोपीलाई न्याय दिन्छ भन्नेमा विश्वस्त छु । चलचित्रमा आफ्नो भूमिका आफैंले निर्वाहा गर्दा मिठास नआउने भएका कारण काम गरिनँ । तर, भविष्यमा अभिनय पनि गर्दैछु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu