पूर्णेन्द्रकुमार झा निर्देशित चलचित्र ‘संरक्षण’ पुनः प्रदर्शनमा आउने भएको छ । गएको साउन २७ गते देशव्यापी प्रदर्शनमा आए पनि लगातारको वर्षाले तरार्इका अधिकांश भु–भाग डुबानमा परेपछि चलचित्रले अपेक्षा अनुसार दर्शकको साथ पाउन सकेको थिएन ।
अब यो चलचित्र होलीको छेको अर्थात्, फागुन १७ गतेबाट फेरि प्रदर्शनमा आउने भएको छ । निर्माता प्रदीप कुमार उदयका अनुसार, विराटनगर, जनकपुर, राजविराज, गौर, विरगञ्जलगायत ८ जिल्लामा चलचित्र रि-रिलिज हुनेछ ।
चलचित्रले तराई क्षेत्रमा हुने राजनीति र त्यसले जनता र प्रहरीलाई कसरी असर पुर्याउँछ भन्ने कथा बोल्छ । ‘संरक्षण’ मा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।
चलचित्रलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ ।
राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो फिल्ममा उतारिएको छ ।