यसै हप्ताको शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘कान्छी’ को ‘सेलिब्रेटी रेड कार्पेट शो’ गरिएको छ ।
मह जोडी, निर्देशक दीपाश्री निरौला, बाल कलाकार अनुभव रेग्मी, माओवादी केन्द्रका नेता अग्नि सापकोटा तथा विभिन्न संघ संस्थाका व्यक्तिहरु ‘सेलिब्रेटी शो’ मा उपस्थित थिए ।
‘मलाई त ‘कान्छी नै राम्रो लाग्यो’, वरिष्ठ अभिनेता हरिवंश आचार्यले भने- ‘श्वेताले मुटु निचोर्नु भएको छ । कलाकारको अभिनय, गीत संगीत, निर्देशकिय र छायांकन पक्ष सबै राम्रो छ ।’ ‘पुरानो धारको भएर पनि नयाँ चिजलाई अंगालेको छ’, मदनकृष्ण श्रेष्ठले ‘कान्छी’ बारे छोटकरीमा प्रतिक्रिया दिए ।
यता, निर्देशक दिपाश्री निरौलाले श्वेताको कमब्याकलाई सार्थक बनेको बताइन् । ‘कान्छी’ हेरिरहँदा मैले श्रीदाईलाई सम्झिए’, भावुक हुँदै दिपाले भनिन्, ‘श्वेताको यो हिम्मत र साहसलाई हामी सबैले स्वागत गर्नु पर्छ ।’
स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठकै जिल्लाबासी माओवादी केन्द्रका नेता सापकोटाले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिए । ‘ चलचित्रको कथावस्तु र अभिनय राम्रो छ’, सापकोटाले भने, ‘ चलचित्र हेर्न थालेपछि अन्तिमसम्म समय बितेकै थाहा भएन ।’
आकाश अधिकारी निर्देशित ‘कान्छी’ मा श्वेता खड्का, दयाहाङ राई, अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको अभिनय छ ।
मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो चलचित्रलाई श्वेता आफैंले निर्माण गरेकी हुन् ।
ग्रामीण भेगकी कान्छीको कथा बोल्ने चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।