‘कान्छी’ जताततै हाउसफूल, फ्यान विच घेरिए श्वेता र दया (फोटो र भिडियोसहित)



शुक्रवारबाट देशभर प्रदर्शनमा आएको यस वर्षको प्रतिक्षीत चलचित्र ‘कान्छी’ ले दर्शकको उत्साहजनक साथ पाएको छ । प्रदर्शनको पहिलो दिन ६५ प्रतिशत रहेको चलचित्रको अकुपेन्सी शनिवार लगभग शतप्रतिशत छ । मल्टिप्लेक्स होस् वा सिंगल, शनिवार जताततै दर्शकको उच्च चाप छ ।

शनिवार बिहानको ११ बजेको शोमा काठमाडौंको गोपीकृष्णका दुईवटा पर्दा हाउसफूल थिए भने २ बजेको शोमा गोपी, ओम, नमः र शिवाय हल हाउसफूल भएको वितरक गोपाल कायस्थले जानकारी दिए ।

काठमाडौंका जय नेपाल, कुमारी, सिभिल, लबिम, बीग मुभिज जस्ता मल्टिप्लेक्समा चलचित्र हेर्ने दर्शक उल्लेख्य छन् । राजधानीका अष्टनारायण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा ‘कान्छी’ ले पकड जमाएको छ ।

शुक्रबारको सुखद व्यापारिक नतिजाका कारण हलवालाले शनिबार बिहानैदेखि थप स्क्रिन उपलब्ध गराएका छन् । दर्शकको उत्साहजनक उपस्थितिका कारण आइतवारबाट मल्टिप्लेक्समा चलचित्रले थप शो पाउने खबर प्राप्त छ ।

काठमाडौं बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको वितरक कम्पनी एफडीले जानकारी दिएको छ । चलचित्रका प्रमुख कलाकार श्वेता, दयासँगै अभिनेता प्रज्जवल सुजल गिरी र निर्देशक आकाश अधिकारी शनिवार दिउँसो साढे १ बजे गोपीकृष्ण हल पुगेका थिए ।

त्यहाँ श्वेता र दयाहाङसँग सेल्फी लिन दर्शकको क्रेज खुबै देखिएको थियो । बडिगार्डसहित गोपीकृष्ण हल छिरेकी श्वेताले दर्शकलाई धन्यवाद दिँदै ‘चरी चट्ट परि’ गीत गाइन् । दर्शकले पनि उनलाई साथ दिए ।

उनले भनिन्, ‘तपाईहरुको मायाले गर्दा म फेरि जन्मिएकी हुँ । यसरी नै सधैभरी यहाँहरुको साथ पाइरहुँ ।’ उनले कहिले पनि आफू चलचित्र क्षेत्र छाडेर टाढा नबस्ने पनि दर्शकसँग बाधा गरिन् ।

यस्तै, अभिनेता राई र प्रज्जवलले पनि उत्साहजनक साथका लागि दर्शकलाई धन्यवाद दिए । चलचित्र हेर्ने अधिकांश दर्शकले दया र श्वेताको केमेष्ट्रीको तारिफ गरेका छन् । प्रज्जवल र विनोद न्यौपानेको अभिनयलाई पनि दर्शकले खुब मन पराएका छन् ।

आकाश अधिकारी निर्देशित ‘कान्छी’ मा नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मालगायत कलाकारहरुको पनि अभिनय रहेको छ ।

 भिडियो :-

मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो चलचित्रलाई श्वेता आफैंले निर्माण गरेकी हुन् ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu