शुक्रबार नेपालभर रिलिज भएको बहुप्रतिक्षीत चलचित्र ‘कृ’ ले बक्सअफिसमा कब्जा जमाएको छ । सुरेन्द्र पौडेल निर्देशित चलचित्रले ‘छक्कापञ्जा’ को कीर्तिमानलाई पछ्याउने संकेत देखिएको छ ।
भ्यालेनटाइन डे र शिवरात्रीको छेको पारेर रिलिज भएको चलचित्रले पहिलो दिन देशभरबाट कूल ९७ लाख ३ सय ७५ रुपैयाँको ग्रस विजेश गरेको रिपोर्ट प्राप्त छ । यस्तै, दोस्रो दिनको कलेक्सन १ करोड ६८ लाख ५३ हजार २ सय ३३ रुपैयाँ ग्रस छ । चलचित्रले दुई दिनमा कूल २ करोड ६५ लाख ५३ हजार ६ सय ८ रुपैयाँ कमाउन सफल भएको छ ।
पहिलो दिन चलचित्रले राजधानीबाट ६१ लाख १३ हजार ५ सय ६३ र मोफसलबाट ३५ लाख ८६ हजार ७ सय ९४ रुपैयाँ कमायो । त्यस्तै, दोस्रो दिन राजधानीबाट १ करोड ४ लाख ९६ हजार २ सय ९७ रुपैयाँ र मोफसलबाट ६३ लाख ५६ हजार ९ सय ३६ रुपैयाँ कलेक्सन गरेको छ ।
शनिवार चलचित्र हेर्न सिनेमा घरहरुमा दर्शकको थामिनसक्नुको भीड थियो । गीतसंगीत, ट्रेलर र युवा स्टार अनमोल केसीको क्रेज शनिवार हलमा देखिएको थियो । ‘कृ’ ले शनिवार गोपीकृष्ण र अष्टनारायण हलबाट बलिउड चलचित्र ‘प्याडम्यान’ लाई समेत विस्थापित गर्यो । शुक्रवार ‘प्यानम्यान’ प्रदर्शनमा आएका हल शनिवार ‘कृ’ ले कब्जा जमाएको थियो ।
साढे ३ करोड लागतमा निर्माण भएको यो चलचित्रले नेपालबाटै लगानी सुरक्षित गर्न ७ करोडको आसपासमा कलेक्सन गर्नु पर्छ । चलचित्र हेरेपछि दर्शकले अनमोलको रोमान्टिक र एंग्री लुक्स दुवै मन पराएका छन् । नायक अनुप विक्रम शाहीको अभिनयलाई सबैभन्दा धेरै रुचाइएको छ । अदितीको अभिनयलाई दर्शकहरुले तारिफ गरेका छन् ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् ।
‘कृ’ मा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।