हलमा देखियो अनमोलको यस्तो क्रेज (फोटो र भिडियोसहित)



शुक्रवारबाट प्रदर्शनमा आएको वर्षको प्रतिक्षीत चलचित्र ‘कृ’ ले आक्रमक शुरुवात गरेको छ । देशभरका सय बढी हलमा प्रदर्शन भैरहेको चलचित्र हेर्नका लागि दर्शकको उपस्थिति सबैजसो हलमा आक्रामक देखिएको छ । शुक्रबार सुखद ओपनिङ गरेको चलचित्रले शनिबार आक्रामक व्यापार गरेको छ । शनिबार बिहानैदेखि काठमाण्डौका सिंगल र मल्टिप्लेक्स हल दर्शकको उच्च चापले भरिए ।

चलचित्रको व्यापार र दर्शकको प्रतिक्रियाबारे बुझ्न निर्देशक, कलाकार र वितरक शनिवार बिहानैदेखि हल–हलमा व्यस्त देखिन्थे । निर्देशक सुरेन्द्र पौडेल, निर्माता सुवास गिरी, नायक अनमोल केसी र नव- नायिका अदिती बुढाथोकी दिउँसो २ बजे गोपिकृष्ण हलमा पुगेका थिए । दर्शकको प्रतिक्रिया बुझ्न गोपीकृष्ण पुगेका नायक अनमोललाई दर्शकको थामिनसक्नुको भीडले सास फेर्न पनि मुश्किल भएको थियो ।

२ वटा गाडीमा रहेका प्रहरी र ६ जना बडिगार्डले अनमोल र अदितीलाई सुरक्षा दिएका थिए । बढीजसो १६ देखि २२ वर्ष उमेर समुहका युवा दर्शकहरु चलचित्र ‘कृ’ हेर्न हल पुगेका थिए । धेरै त युवतीहरु देखिन्थे । अनमोललाई सामुन्ने देख्दा कति युवतीहरुले आँखामा आँसु सम्हाल्न सकेनन् ।

‘अनमोल–अनमोल’ भन्दै चिच्याएका हजारौं दर्शकको आवाज साँच्चै हेर्न लायक थियो । सेल्फी खिच्न हातमा मोवाइल बोकेर बसेका धेरै फ्यानहरु अत्याधिक भीडका कारण अनमोलको छेउसम्म पनि पुग्न सकेनन् ।

केही बेर गोपीकृष्णको बालकोनीमा उभिएर अनमोलले आफ्नो ‘हाईहार्ट’ फ्यानलाई धन्यवाद दिँदै हात हल्लाए र ‘लभ यू’ भने ।

शनिवार बिहान गोपीकृष्णका चारवटा पर्दामा ‘कृ’ ले हाउसफूल भएका थिए । दिवा शोमा ६ वटा पर्दा हाउसफूल भए । शनिबार बलिउड स्टार अक्षय कुमार अभिनीत चलचित्र ‘प्याडम्यान’ लाई सानो हलमा सारेर गोपीसहित पाँच स्क्रिन ‘कृ’ का लागि उपलब्ध गराइएको छ भने अष्टनारायणको मुख्य स्क्रिनमा समेत यसै चलचित्र लगाइएको छ । उक्त हलका अनुसार, चलचित्रले शनिवार बिहानी र दिवा शोमा ‘हाउसफुल’ व्यापार गरेको छ ।

राजधानीका गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा ‘कृ’ ले पकड जमाएको छ । शुक्रबारको सुखद व्यापारिक नतिजाका कारण हलवालाले शनिबार बिहानैदेखि थप स्क्रिन उपलब्ध गराएका छन् ।

यस्तै, मल्टिप्लेक्समा पनि दर्शकको चाप उच्च देखिएको थियो । काठमाण्डौका जय नेपाल, कुमारी, सिभिल मल, लबिम मल, बीग मुभिजमा फिल्मले पाएको सबै शोमा हाउसफूलका साथ दर्शकले चलचित्र हेरे । यस्तै, काठमाण्डौ बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको वितरक मनोज राठीले बताए ।

पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा अनमोल र अदितीको साथमा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् ।

 भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu