शुक्रबारबाट फ्राइडे रिलिजको परम्परा धान्दै युवा स्टार अनमोल केसी अभिनीत बहुप्रतिक्षीत चलचित्र ‘कृ’ देशभरका सय बढी हलहरुबाट एकसाथ प्रदर्शनमा आएको छ । रिलिजका लागि देशभर १ सय १८ वटा पर्दा पाएको ‘कृ’ ले मल्टिप्लेक्सहरुमा पनि उच्च शो पाएको छ ।
मल्टिप्लेक्समा बलिउडस्टार अक्षय कुमार अभिनीत चलचित्र ‘प्याडम्यान’ पनि रिलिज भएको छ । लगातार चार चलचित्रमा रोमान्टिक हिरोको रुपमा देखिएका अनमोल यसपटक विशेषतः एक्सन अवतारमा प्रस्तुत भएका छन् ।
चलचित्र ‘कृ’ को शुक्रवार ८० प्रतिशतमाथि अकुपेन्सी रहने निर्माण पक्ष र वितरकको अनुमान छ । मंगलवार साँझ बाटै मल्टिप्लेक्समा चलचित्रको बुकिङ खुल्ला गरिएको थियो । अनमोलको क्रेज र चलचित्रको हाइपका कारण ‘कृ’ को इनिसियल व्यापार आक्रामक हुने धेरैको अनुमान छ ।
पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । सुरेन्द्र पौडेल चलचित्रका निर्देशक हुन् ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् ।