पचास वर्ष पुरानो कथामा आधारित ग्रामिण कथा र पुरानो सँस्कृति झल्काउने चलचित्रको ‘पञ्चायत’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा अभिनेत्री नीता ढुंगानालाई १४ वर्षे किशोरी र अभिनेता सरोज खनाललाई ‘गाउँका निम्ति भगवानभन्दा ठूला मान्छे’ भन्दै प्रस्तुत गरिएको छ ।
यो चलचित्रमा सरोज र नीताका अलवा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
५० बर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई ‘पञ्चायत’ मा देखाइएको लेखक तथा निर्देशक शिवम अधिकारीले जानकारी दिए ।
गणेश गिरीको प्रस्तुती रहेको चलचित्रको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन् ।
ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नायिका नीताले ‘मसान’ पछि आफ्ना लागि यो चलचित्र आशातित रहेको बताइन् । उनले भनिन्, ‘चलचित्रमा मैले १४ वर्षे एक यूवतीको भूमिका निर्वाहा गरेकी छु । स्क्रिप्ट पढ्दा मैले यो भूमिका गर्न सक्छु जस्तो लागेको थिएन तर निर्देशकको मिहिनेतले त्यो सम्भव भयो ।’ यस्तै, अभिनेता खनालले ‘पञ्चायत’ आफ्नो लागि विशेष रहेको सुनाए ।
टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।
भिडियो :-