फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको शुक्रबारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘शेरबहादुर’ र ‘पटुकी’ ले आजबाट देशव्यापी प्रदर्शन सुरु गरेका हुन् । ‘शेरबहादुर’ मल्टिप्लेक्स र ‘पटुकी’ सिंगल थिएटर लक्षित चलचित्र हो ।
सस्पेन्स थिलर जनरामा बनेको ‘शेरबहादुर’ मा सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ भने ‘पटुकी’ मा ‘परदेशी’ गर्ल रजनी केसीको प्रमुख भूमिका छ ।
प्रियिमरमा उत्कृष्ट तारिफ पाएको ‘शेरबहादुर’ एक हलिउड चलचित्रबाट प्रभावित छ । चलचित्रलाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो चलचित्रमा प्रमोद क्षेत्रीको कथा छ । चलचित्रमा गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको छ ।
‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको चलचित्र हो । ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको चलचित्रका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।
यस्तै, ‘पटुकी’ मा जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको पनि मुख्य अभिनय छ । म्याक्टेन कालुको निर्माणमा बनेको यस चलचित्रका सह–निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् ।
नारीप्रधान भनिएको ‘पटुकी’ मा राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द्व, शिव वि.क.को करियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन छ । चलचित्रका निर्देशक राम नेपाल हुन् ।