प्रदर्शनको ६ दिनमा करीब साढे २ करोड विजनेश गरेको चलचित्र ‘मिस्टर झोले’ यूनिटले दर्शकलाई धन्यवाद व्यक्त गरेको छ । दर्शकबाट पाएको साथलाई धन्यवाद दिँदै निर्माता टेकेन खड्काले ‘मिस्टर झोले’ले पाएको सफलताबाट आफू खुसी भएको बताए । उनले भने, ‘हामीले बनाउन खाजेकै चलचित्र दर्शकमाझ पुगेको छ । दर्शकहरुले दिनुभएको राम्रो प्रतिक्रियाबाट हामी उत्साहित छौं ।’
लगालग असफलता पाइरहेको अवस्थामा ‘मिस्टर झोले’बाट नायक दयाहाङ राईले ठूलै राहतको महशुस गरेका छन् । उनी भन्छन्, ‘चलचित्रले लगानी सुरक्षित गरेको खबर सुन्न पाउँदा म निकै खुसी छु । यसको सम्पूर्ण क्रेडिट दर्शकलाई जान्छ । राम्रासँगै नराम्रा कमेन्टहरु पनि हामीले पायौं । यसलाई हामी अगामी दिनमा सुधार गर्दै लैजाने छौं ।’
कार्यकारी निर्माता रौनक बिक्रम कँडेलले पनि चलचित्रको सफलताबाट आफू खुसी भएको बताए । यस्तै, चलचित्रका निर्देशक रामबाबु गुरुङ पनि दर्शकबाट पाएको प्रतिक्रियाबाट प्रफुलित देखिन्छन् । ‘मिस्टर झोले’, ‘कबड्डी’ फ्लेवरको चलचित्र लाग्यो भन्ने आरोपलाई पनि निर्देशक गुरुङले प्रष्ट्याउने प्रयास गरे ।
उनी भन्छन्, ‘दर्शक र मिडियाकर्मीबाट पाएको प्रतिक्रियालाई म सम्मान गर्छु । हो, मैले ‘कबड्डी’ जस्तै चलचित्र बनाएको हुँ । मबाट दर्शकले धेरै ठूलो अपेक्षा गर्नुहुन्छ । यो प्रतिक्रियाले पनि म अझ सुध्रिनु पर्छ भन्ने लाग्छ ।’ उनले ‘मिस्टर झोले’मा कथा नै नभएको पनि स्वीकार गरे ।
चलचित्र ‘मिस्टर झोले’मा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय छ ।
यो चलचित्रलाई टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको हो । यसअघि निर्देशक गुरुङ्गले ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ जस्ता चलचित्रहरु निर्देशन गरेका थिए ।