पछिल्लो समय नायिका प्रियंका कार्कीको चर्चा गज्जबकै छ । लगातार चलचित्र हलमा आइरहेका छन्, विभिन्न कारणले गसिपको पात्र बन्न पनि उनी छाडेकी छैनन् । केहीदिन अगाडि मात्र चलचित्र ‘लिलिबिली’को छायांकन सकाएकी प्रियंका अभिनीत नयाँ चलचित्र ‘बटरफ्लाई’ यही हप्ताको शुक्रवारबाट प्रदर्शनमा आउँदेछ ।
आइतवार चलचित्रको विषयमा जानकारी दिन निर्माण पक्षले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रियंकाले ‘बटरफ्लाई’मा आफूले निर्वाहा गरेको भूमिकाबाट उत्साहित रहेको बताइन् ।
उनी भन्छिन्, ‘धेरै चलचित्रमा मैले फरक-फरक भूमिका निर्वाहा गरेको छु । ‘बटरफ्लाई’मा पनि मेरो भूमिका फरक छ । सिम्पल लभस्टोरीमा चलचित्र निर्माण भएको छ । मैले यस्तो भूमिका आजसम्म अन्य चलचित्रमा गरेकी छैन ।’
यो चलचित्रमा नायक आर्यन अधिकारीसँग प्रियंकाको जोडी बाँधिएको छ । पत्रकारसँग कुराकानीको क्रममा प्रियंकाले कसैले आफूलाई ११ करोड दिए वर्षमा एउटा मात्र फिल्म गर्ने पनि बताइन् ।
उनी अगाडि भन्छिन्, ‘बाँच्नका लागि पनि मैले फिल्म गर्नुपर्छ । मेरो साइड विजनेश छैन । विहान उठेदेखि राती सुतेसम्म म चलचित्रकै विषयमा सोच्छु । बलिउड जस्तो हाम्रो ठूलो बजार छैन । चलचित्र लगातार नगर्ने हो भने बाँच्ने कसरि ?’
यस्तै, उनले आफू अभिनीत चलचित्रबाट पाएको पारिश्रमिकबाट सन्तुष्ट रहेको पनि बताइन् ।