काठमाण्डौ। नेपाली चलचित्र ‘बाबु कान्छा’को पहिलो गीत रिलिज भएको छ । मंसिर १५ गते रिलीज हुने यो चलचित्रको ‘चन्द्रमा झैँ राम्री छौं’ बोलको गीत शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।
यो गीत फिल्म ‘कर्णविर’को रिमिक्स भर्सन हो । सलोन बस्नेत, मेलिना राई र ओम सुनारको स्वर रहेको गीतको रिमिक्स भर्सन सुनार आफैले तयार पारेका हुन् । क्लब डान्सको रुपमा प्रस्तुत गरिएको भिडियोमा सलोन बस्नेत, करिश्मा श्रेष्ठ ऋतिक शाही लगायतका कलाकारहरु फिचरिङ छन् । गीतमा टंक बुढाथोकी र लक्ष्मण ‘शेष’को संगीत सुन्न सकिन्छ ।
रवि अधिकारी कार्यकारी निर्माण रहेको चलचित्रमा सलोन, करिश्मा र ऋतिकका अलावा एसलिन ज्ञवाली, ज्योत्सना सापकोटा, सरोज खनाल, नीर शाह, राजाराम पौडेल, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । दीपेन्द्र तिमल्सिनाको नृत्य निर्देशन रहेको चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् । सन्तोष राज भण्डारी र सुजन घिमिरे सह-निर्माण रहेको चलचित्रको कथा निर्देशक बस्नेत आफैले लेखेका हुन् ।