काठमाण्डौ। अडियो गीतले बजारमा हाइप लिइसकेपछि बिहिबार ‘अनी किन ल्याङ ल्याङ गर्दैछौ मैया’ बोलको गीतको भिडियोको छायांकन गरिएको छ । कात्तिक १७ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोमियो’मा यो गीत समावेश हुनेछ ।
काठमाण्डौको ठमेलमा रहेको एक डान्स क्लबमा यो गीतको भिडियो छायांकन गरिएको हो । ८० जना भन्दा बढी कोरसका साथमा फिल्मका मुख्य नायक हसनराजा खान र नव–नायिका ओसिमा बनुले गीतमा नृत्य गरे भने उनीहरुसँगै नायिका अशिष्मा नकर्मी र नायक संजोग कोइरालाले पनि नृत्य गरे ।
अशिष्मा र संजोग यही गीतमा मात्र देखिनेछन् । निर्माता तथा नायक हसनले भने–‘अडियो हिट भैसकेकाले हामीलाई भिडियो पनि उत्कृष्ट बनाउनुपर्ने चुनौती छ । यसैले, सोही अनुसार मिहिनेत गरेर भिडियो तयार भएको छ ।’
यो गीतमा सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर, सुनिल पाण्डेकै संगीत छ । फिल्मलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । रामेश्वर कार्कीको छायांकन रहेको फिल्मको यो गीतलाई गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् । फिल्ममा हसनराजा खान, नीशा अधिकारी, मेलिना मानन्धर र ओसिमा बनुलाई दर्शकले मुख्य भूमिकामा देख्नेछन् ।